तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा कोरोना व्यवस्थापनका लागि साढे ५३ करोड विनियोजन

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि साढे ५३ करोड बढी रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५३ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आर्थिक वर्ष २०७७/०७८ को बजेट स्वास्थ्य शिक्षा, उत्पादन र पूर्वाधारमा केन्द्रित रहेको बताउनु भयो । उहाँले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख राहत उपलब्ध गराइने जनाउनु भयो । ‘हामीले रकम कर्णालीमा ट्रमा सेन्टर स्थापनादेखि प्रदेश राजधानी सुर्खेतमा उच्च क्षमताको अक्सिजन प्लान्टसँगै अन्य जिल्लामा मिनी अक्सिजन प्लान्ट स्थापना गरिँदैछ,’ उहाँले भन्नुभयो, ‘कोरोना महामारी नियन्त्रणमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई तलबको शतप्रतिशत जोखिम भत्ता, सबै नागरिकलाई कोरानाबिरुद्धको खोप लगाउने लगायतका योजनाहरू बजेटमा समावेश छन् ।’ 

उहाँले प्रदेशका मुख्य नाका सल्यानको कपुरकोट र सुर्खेतको बबईमा सेन्सरसहितको हेल्थ डेस्क राखिने जानकारी दिनु भयो । उहाँका अनुसार चालू आर्थिक वर्षको तुलनामा करिब ३ अर्ब बढीको बजेट प्रदेश सरकारले ल्याएको छ । उहाँले कोभिड–१९ लगायत महामारीबाट कर्णालीलाई सुरक्षित राख्न अत्यावश्यक औषधी, स्वास्थ्य सामग्री एवं उपकरणको उपलब्धता, अत्यावश्यक खाद्यान्नको भण्डारण, खाद्य सुरक्षा, रोजगारी सिर्जनालाई बजेटको प्राथमिकतामा दिएको बताउनुभयो । 

उहाँका अनुसार बजेटमा प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा, प्रत्येक सामुदायिक विद्यालयमा नर्सिङ सेवा, एक स्थानीय तह एक नमुना विद्यालय, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना, बैङ्क, खाता छोरीको सुरक्षा जीवन भरीको, प्रत्येक घरमा स्वरोजगार बनाउन अनुदान, तीन सय कृषि प्राविधिकलाई स्वरोजगार, उत्कृष्ट किसानलाई सुनको हलो अङ्कित तक्माले सम्मान गर्ने कार्यक्रमहरू समावेश गरिएका छन् । प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ । पुँजीगत तर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तीयतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार रुपैयाँ बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button