तपाईँ सुन्दै हुनुहुन्छः

मैथली समुदायका महिलाहरूले बट सावित्री पर्व मनाए

सप्तरी । मैथली समुदायका विवाहित महिलाहरूले आफ्नो श्रीमानको दिर्घजीवन तथा सुस्वास्थ्यको कामना गर्दै आज बट सावित्री पर्व श्रद्धापूर्वक मनाएका छन् ।
कोरोना संक्रमण बढेको असरलाई ध्यानमा राखी स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाका बीच बिहीबार बिहानैदेखि यो पर्व मनाउनको लागि सप्तरी हनुमाननगर कंकालनी नगरपालिका सहित सदरमुकाम राजविराजस्थित भगवती मन्दिर तथा गाउँ/नगर आसपासका वरको रुखमुनि घुइँचो लागेको थियो । कतिपय व्रतालु महिला भने प्रशासनद्वारा जारी निषेधाज्ञा तथा सार्वजनिक स्थानमा भिडभाड नगरी घरमै पूजा गर्न आग्रह गरेका कारण घर आँगनमै गमलामा वरको रुख रोपी यो पर्व मनाएका छन् ।
पर्वको क्रममा सुन्दर पहिरनमा सजिएका महिलाले मन्दिर, घर र नजिकको बर रुखलाई रातो र पहेँलो धागोले बेरेर स–विधि पूजापाठ गरी गर्मीबाट जोगाउन हाते पङ्खा हम्के अनि रुखलाई ढोगेर आशीर्वाद लिए । प्रत्येक वर्ष जेठ औँसीको दिन मनाइने यो पर्व आफ्ना श्रीमानको दिर्घजिवनका लागि मनाउने गरेको हनुमाननगर कंकालनी नगरपालिका १० की व्रतालु प्रीति अधिकारीले बताइन् ।
अर्का व्रतालु महिला राजविराज ५ की ममता भारर्तीले पनि आफ्नो श्रीमानको दिर्घजिवन तथा सुस्वास्थ्यको कामना गर्दै व्रतमा बसेको बताइन् ।
बरको रुखलाई मैथलीमा वर अर्थात् दुताहा पनि भनिन्छ । मिथिला संस्कृतिमा श्रीमानलाई देउताका रुपमा पूजा गर्ने परम्परा पुरानो हो । त्यही मान्यता अनुसार वर्षको एक दिन श्रीमानको सम्मान वरको रुखले पाउँछ ।
पण्डित रूपकान्त मिश्रका अनुसार धर्मशास्त्रमा सावित्रीले आफ्नो मृत पति सत्यवानको पुर्नजिवनका लागि वरकै रुखको पूजा गरेकी थिइन् । पूजापछि सत्यावनले पुर्नजिवन प्राप्त गरेको पौराणिक मान्यता छ । त्यही मान्यता र विश्वासलाई मिथिलाका महिलाहरूले पालना गर्दै प्रत्येक वर्ष औँसीका दिन बट सावित्री पर्व श्रद्धापूर्वक मनाउँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button