तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

 

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा कर्णाली प्रदेशका दुई जना नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आज एक समारोहका बीच सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाहीलगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

नवनियुक्त मन्त्री द्वय नेपाली काँग्रेसका सांसद हुनुहुन्छ ।

गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई काँग्रेसले विश्वासको मत दिएपछि आज काँग्रेसका तर्फबाट दुई जना मन्त्री नियुक्त गरिएको हो ।

२०७४ को निर्वाचनपछि काँग्रेसले पहिलो पटक माओवादी केन्द्रसँग कर्णालीबाट सत्ता साझेदारी गरेको हो ।

कर्णाली सरकारमा अहिले माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित तीन जना र एमालेबाट ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका तीन जनासँगै काँग्रेसबाट दुई हुनुहुन्छ । हाल ३५ सदस्य रहेको प्रदेशसभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, काँग्रेसका ६ र राप्रपाका एक सांसद हुनुहुन्छ ।

कांग्रेस सत्ताधारी भएसँगै सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट संसद्बाट पारित हुने करिब निश्चित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button