तपाईँ सुन्दै हुनुहुन्छः

जिसस मकवानपुरले अन्तरपालिका स्तरीय फुटबल आयोजना गर्ने

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजनामा आगामी वैशाख ९ गतेबाट हेटौँडामा प्रथम अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

सोमबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरेर जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले आगामी वैशाख ९ गतेबाट सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिको आयोजना एवम् जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा हेटौँडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुने प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहको सहभागिता रहने उहाँले बताउनुभयो । स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ गर्न लागिएको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगिताको सम्पुर्ण तयारी भइसकेको र कोरोनाबाट बच्ने सम्पूर्ण मापदण्डहरू अपनाएर प्रतियोगिता सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा इन्द्र सरोबर गाउँपालिका र बागमती गाउँपालिका बिच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button