तपाईँ सुन्दै हुनुहुन्छः

शहीद स्मृति गोल्डकप फागुनको अन्तिम साताबाट सुरु हुने

मकवानपुर । मकवानपुरका १० वटै स्थानीय तहको आर्थिक सहयोगमा दश वर्ष अघिबाट हेटौँडामा प्रारम्भ भएको शहीद स्मृति गोल्डकप प्रतियोगिता फागुनको अन्तिम साताबाट सुरु हुने भएको छ ।
२०६२–०६३ को जनआन्दोलनका शहीदहरूको स्मृतिमा हेटौँडामा पहिलो पटक थालिएको गोल्डकपको तेस्रो संस्करण फागुन २७ बाट चैत्र ७ गतेसम्म हुने आज हेटौँडामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
यस अघि विभिन्न प्रायोजकहरूको नाममा सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि यो वर्षबाट जिल्लाका १० वटै स्थानीय तहले सहयोग गरेका छन् । स्थानीय तहको सहयोगबाट प्रतियोगिता सञ्चालनको तयारी थालेको मकवानपुर फुटबल सङ्घले यस वर्षबाट खेललाई ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ नामकरण गरेको प्रतियोगिताका संयोजक प्रताप विष्टले जानकारी दिनुभयो ।
प्रतियोगितामा विभागीय टोलीसहित उपत्यकाभित्रका चर्चित ६ सहित १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथमले १० लाख, द्वितीयले ५ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार, विद्यागत ५ शीर्षकमा उत्कृष्टले नगद २५ हजार र प्रत्येक खेलमा म्यान अफ दी म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिता सञ्चालनका लागि कुल ९४ लाख ४० हजार ५ सय रुपियाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button