तपाईँ सुन्दै हुनुहुन्छः

प्रणय दिवसमा प्रेमको प्रतीक रानीमहल

पाल्पा  । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । गुलाबको फूल उपहार दिएर प्रेम प्रस्ताव गर्ने दिन । युवापुस्तामा बढी लोकप्रिय, फेब्रुअरी १४ । श्रीमान् श्रीमतीहरूले एक अर्कालाई उपहार आदानप्रदान गरेर मनाउने दिन पनि हो यो । मन परेको व्यक्तिलाई आफ्नो अव्यक्त प्रेमका बारेमा जानकारी गराउने दिनको रुपमा समेत प्रणय दिवसलाई लिइन्छ । प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमासमेत यो दिनलाई लिने गरेका छन् । यही दिनमा प्रेम व्यक्त गर्ने स्थानको खोजी भइरहेको हुन्छ, पार्क, शान्त स्थान, सार्वजनिक मठ मन्दिर तथा भिलेजहरू । यही बीचमा नयाँ प्रेमील जोडीको गन्तव्यको स्थान बनेको छ, रानीमहल ।
प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिनमा नेपाल लगायत विश्वभर एकआपसमा प्रेम साटासाट गरेर यो दिवस मनाइँदै छ । ईश पूर्व ३५० अघि इटलीका तत्कालीन शासक क्लाउडियसले प्रेमका पुजारी सन्त भ्यालेनटाईनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । पश्चिमा देशहरूमा धूमधामसँग मनाइने भ्यालेन्टाइन डे लाई नेपालमा पनि युवा पुस्ताले ठुलै महत्त्व दिन थालेका छन् ।
प्रेम मधुरतम भाव हो । हो, प्रेममा विश्वास हुन्छ । यही विश्वासमा संसार चलेको छ । प्रेमको कुनै रुप, तौल, आका प्रकार हुँदैन । त्यसैले यसलाई बुझ्ने र बुझाउने तरिका फरक फरक हुन्छ ।
हरेक व्यक्तिमा प्रेम हुन्छ तर यसलाई प्रस्तुत गर्ने शैली भिन्न हुन्छ । प्रेम शब्द सदैव सकारात्मक हुन्छ । खुसी, आनन्द, शक्ति तथा उत्साह दिने भावना हो प्रेम । भनिन्छ प्रेम विनाको मानिस अन्धो हुन्छ । प्रेमबिनाको जीवन असन्तुलित हुन्छ । तर प्रेम शब्द आजकाल युवायुवती बिचको मायाको रुपमा परिभाषित हुँदै गएको छ । प्रेम सबैचिज होइन तर केही चिज हो भन्नेहरू पनि छन् । तर प्रेम पुरुष र स्त्री बिचको कुरा मात्र भने होइन । सोचविचार तथा भावना मिलेर प्रेम हुन्छ भनिन्छ । दुई आत्मा बिचको मिलान प्रेम हो भने प्रेम जीवनको मौलिक भोक हो । प्रेमले नै जीवनको बीजारोपण हुन्छ ! प्रेम मात्र दुई युवायुवतीबिचको क्षणिक आकर्षण होइन । मानिसलाई जीवन्तता प्रदान गर्ने एक एक तत्त्व पनि हो । साँच्चिकै भन्ने हो भने प्रेम गर्नलाई कुनै विशेष दिनको आवश्यकता पर्दैन र प्रेम यो दिन यो ठाउँमा र यो व्यक्तिसँग गर्छु भनेर सायद हुँदैन । तर पनि यसका लागि उचित स्थान खोजी गर्नेहरूको सूची भने लामो नै हुन्छ । यसको एउटा उचित स्थान हो शान्त, रमणीय, पानीमाथि तैरिरहेको देखिने रानिमहल ।
प्रेमका निःशब्द अभिव्यक्तिले रानिमहल पुग्ने जोकोहीलाई द्रवीभूत मात्र बनाउँदैन, स्पष्ट सन्देश दिन्छ– संसार प्रेमको मन्दिर हो, निस्फिक्री, निर्विघ्न प्रेम साट । प्रेमलाई समाजले खुला र उन्मुक्त देख्न चाहँदैन । त्यसैले प्रेमलाई साट । अभिव्यक्त गर र विश्वासको कसी लगाऊ । प्रेमको भोक सबैमा छ त्यसैले त लुकाएर प्रकट गर्नुपर्छ । जीवात्मा र परमात्मालाई जोड्ने पुल हो प्रेम । न की यसलाई वासना तृप्त गर्ने सजिलो साधन बन्नु हुँदैन । आजकल शरीर, इन्द्रिय, मन, बुद्धि, धन, पदसँग गाँसिएको छ, प्रेम । त्यसैले अपेक्षा, माया, मोह र मानसिक तथा शारीरिक सम्बन्धसँग गाँस्न थालिएको । अतृप्ति वासनाजन्य प्रेममा समाजको पनि समर्थन छैन र एकान्त स्थानको आवश्यकता बोध हुन पुग्यो । प्रेम प्रकट गर्ने अवसर नपाएकै कारण समाजमा विकृति फैलिएको कतिपयको बुझाई छ । प्रेमलाई नियन्त्रण गर्नुभन्दा उजागर गर्नु नै उत्तम ठानिन्छ । तर विज्ञान र प्रविधिको बढ्दो परिवर्तनले यसमा समस्या निम्त्याउने खतरा बढेको छ ।
प्रणय दिवस वा प्रेम दिवस विश्वभर मनाइने दिवस हो । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदैछ । त्यसैले त आज माया साटासाट हुँदैछ । नेपालमा पछिल्लो समय प्रणय दिवस मनाउने चलन निकै बढेर गएको छ । सच्चा प्रेमको प्रतीक ठानिने रानिमहलमा यो दिवसमा दिन प्रेम जोडीहरूको प्रमुख गन्तव्य बन्ने गरेको छ । १९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा रानिमहल निर्माण गरेका थिए । तानसेन नगरपालिकाको बौघागुम्हा र खानीगाउँ गाउँको बिचमा अवस्थित छ, रानीमहल । काली गण्डकीको किनारमा बनाइएको राजमहल जिल्ला सदरमुकाम तानसेनदेखि १४ किलोमिटर उत्तरमा छ । यही स्थानमा सच्चा जोडिहरूँ आफ्ना अतीतलाई सम्झँदै वर्तमानमा टेकेर भविष्यको कल्पनाका लागि आउने गर्दछन् ।
वर्षमा एक दिन सच्चा प्रेम र आस्था प्रकट गर्ने दिनका रुपमा नेपालमा पनि प्रणय दिवस मनाउन थालिएको हो । किशोरावस्थाका युवा युवतीहरूले माया पिरती साटासाट गर्ने दिवस । मनमा गुम्सिएका भावनाहरू र तरङ्गहरूलाई उत्प्रोत गर्ने पर्वका रुपमा पनि यसलाई लिन थालिएको छ । पारिवारिक माया ममता भन्दा पनि भन्दै आभास गर्ने मायालाई दुई आत्माको मिलन मानिन्छ । जब कुनै व्यक्ति माया पिरतीको जालोमा अल्झिएको हुन्छ उसको संसार त्यसैमा रोमलिन थालेको हुन्छ ।
१९५० सालमा शिलान्यास गरी १९५४ सालमा कालिनदिको चट्टान माथि पश्चिमी कला कौशलको बेजोड नमुनाले सिँगारेर बनाइएको छ नेपालको राजमहल । यही स्थानमा एक्लै रात बिताउँदा खड्ग शमशेर कहिले कहिले आफ्नी दिवङ्गत रानीलाई सम्झँदै भाव विह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ । १९६० सालमा खड्ग शमशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र ग¥यो भन्ने श्री ३ चन्द्र शमशेरले थाहा पाए । चन्द्र शमशेरले पाल्पामा सेना पठाइ तैनाथि आफ्नो हातमा लिए । आफूमाथि खतराको घण्टी बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए । त्यसै दिनदेखि प्रेमको प्रतीक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ । तर वर्षमा एक दिन आइपुग्ने प्रणय दिवसका अवसरमा भने यो महलले राम्रै महत्त्व पाउने गरेको छ ।
पाल्पा र स्याङ्जाको सिमानामा पर्ने यो दरबार खड्ग शमशेरले युनानी शैलीमा बेलायती इन्जिनियरको डिजाइन अनुसार बनाएका हुन् । कालीगण्डकी जलविद्युत् आयोजनाले स्याङ्जाको मिर्मीमा पानी नथुन्दै यहाँ विदेशी पर्यटकको ओइरो लाग्दथ्यो । जुन समय दरबारलाई स्याङ्जाबाट झ्वाट्ट हेर्दा कालिगण्डकी माथि तैरिए जस्तो देखिन्थ्यो । अहिले यो किनारमा छ । दरबारको जगबाट कालीनदी बगेपनि हालसम्म दरबारलाई भने कुनै क्षति पु¥याएको भने छैन । करिब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको यो ताजमलमा २४ वटा कोठा रहेका छन् । ताजमहलको परिसरमा मनमोहक बगैँचा, शिवालय, पानीपोखरी, शिबलिङमा नागनागिनीले जल शेचनको दृश्य, भान्सा घर, घोडा बाँध्ने तबेला ठूला घण्टहरू सहितको विभिन्न आकर्षक कलाकृतिहरू देख्न सकिन्छ ।
नेपालको राजमहल भनेर चिनिने रानी महललाई जिल्ला सदरमुकाम तानसेनबाट सडक सञ्जालले जोडेको छ । कालीगण्डकी कोरिडोरसँग यसको सम्बन्ध स्थापित भएको छ । त्यसैले त रानीमहल पुग्ने पर्यटकहरूको सङ्ख्यामा आशातीत प्रगति देखिएको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरले रानी महललाई राम्दीदेखी अर्गली सम्मको सडक यातायातसँग जोडेसँगै यहाँ पुग्ने पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएको छ ।
प्रेम दिवसको अवसरमा दरबारलाई साक्षी राखेर प्रतीक्षा गर्नेहरूको भीड लाग्ने गर्दछ । दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अजर अमर रहने जन विश्वास छ । त्यसैले होला भित्तामा आफ्नो नाम लेख्नेहरूको निकै होडबाजी पनि चल्ने गर्दछ । नेपालको राजमहल भनेर चिनिने पाल्पाको रानी महललाई प्रेम गर्नेहरूलाई औधी मन पराउँछन् । साँचो र दिगो प्रेमको कामना गर्दै युवायुवती यहाँ पुग्ने गर्छन् । तर अरूलाई मायाप्रेम सिकाउने यो ठाउँ चाहिँ आफैँले माया पाउन सकेको छैन । धार्मिक र पर्यटकीय रूपले अति महत्त्वपूर्ण रानीमहलमा जिल्ला सदरमुकाम तानसेनदेखि ३ घण्टाको पैदल दुरीमा पुग्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button