तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जबाट झण्डै ८० अर्बको मालसामान भारत निर्यात

वीरगञ्ज । मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष २०७७–७८ को पहिलो ६ महिनामा भारततर्फ ७९ अर्ब ८८ करोड ८ लाख ५२ हजार रुपैयाँ बराबरको विभिन्न मालसमान भारततर्फ निर्यात भएको छ ।

चालू वर्षको साउनदेखि पुससम्मको अवधिमा वीरगञ्ज नाकाबाट भटमासको तेल सबै भन्दा बढी भारततर्फ निर्यात भएको वीरगञ्ज  भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश आचार्यले बताउनुभयो ।

कोरोना महामरीका कारण चालु आर्थिक वर्षको झण्डै ४ महिना वीरगञ्ज नाकाबाट भारततर्फ हुने निकासी समेत प्रभावित भएको भन्सार प्रशासक आचार्यले बताउनुभयो । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगञ्ज नाकाबाट मात्रै ११ अर्ब ५५ करोड ८१ लाख ३३ हजार मुल्य बराबरको ७ करोड ८३ लाख ४१ हजार ७ सय २९ किलो भटमासको तेल भारततर्फ निकासी भएको छ ।

वीरगञ्ज नाकाबाट बारा पर्सा औद्योगिक कोरिडोरका १४ ओटा उद्योगले भटमासको तेल निकासी गर्दै आएका छन् । गत आव २०७६–७७ को साउनदेखि पुससम्मको तुलनामा चालू वर्ष निकासी भएको भटमासको तेल मूल्यका आधारमा ३ सय २ प्रतिशतले वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ ।

पाम आयल निकासी रोकिएपछि स्वदेशी तेल उत्पादकहरू भटमासको तेल निर्यातमा केन्द्रित भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक आचार्यले बताउनुभयो ।

त्यसैगरी वीरगञ्ज नाकाबाट डाबर नेपालद्वारा उत्पादित जुस, दन्तमञ्जन, च्यावनप्राससहित कपडा, सेन्थेटिक यार्न, स्पोर्टस सुज, उनी गलैंचा कार्पेट र पिना पनि भारत निकासी हुने मुख्य बस्तु रहेका छन् ।

डाबरको जुस जाम १ अर्ब ६४ करोड ८४ लाख ६० हजार मुल्य बराबरको भारत निर्यात भएको छ भने च्यावनप्रास, त्रिफला, बतिसा ६६ करोड २० लाख १५ हजार मुल्य बराबरको निर्यात भएको छ ।

डाबर दन्त मन्जन मात्रै ५५ करोड ३० लाख २३ हजारको निर्यात भएको छ भने जमोठ कपडा ६६ करोड ६५ लाख ९५ हजार मुल्य बराबरको निर्यात भएको छ ।

यता सेन्थेटिक यार्न ५० करोड २८ लाख ६२ हजार मुल्यको निर्यात भएको छ भने स्पोर्ट सुज नेपालबाट ४८ करोड ४६ लाख ८२ हजार मुल्य बराबरको निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।

त्यसैगरी आयुर्वेदिक औषधि, स्टीलका भाँडाकुँडा, कागजका बाकस, सीआर सीट लगायत वस्तु समेत ठूलो परिणाममा भारततर्फ निर्यात हुने गरेको वीरगञ्ज भन्सारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button