तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार ग्रामलाई प्रभावकारी रुपमा अघि बढाउन सबैको प्रतिबद्धता आवश्यक : कार्यकारी निर्देशक केसी

विराटनगर । तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम सञ्चालन गर्ने सम्बन्धमा रेडियो नेपाल र विराटनगर महानगरपालिका बिच आज विराटनगरस्थित सञ्चार ग्राममा बैठक सम्पन्न भएको छ ।
सञ्चार ग्राम परियोजना समन्वय समितिका संयोजक एवं रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीको संयोजकत्वमा बसेको सो बैठकले सञ्चार ग्राम सञ्चालन गर्न तयार पारिएको सञ्चालन निर्देशिका स्वीकृत गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले सञ्चार ग्रामको उद्देश्य अनुरूप यही माघ १५ गतेदेखि तीन महिने सङ्गीत प्रशिक्षण कक्षा सञ्चालनका लागी आवश्यक तयारी पुरा भएको जनाएको छ ।  निमार्ण सम्पन्न हुन लागेको सञ्चार ग्रामको स्थलगत निरीक्षण र अनुगमन गरी निमार्ण कार्यको समेत बैठकमा समीक्षा गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक केसीले बताउनुभयो ।
सो अवसरमा बोल्दै उहाँले मिडिया हबको रुपमा रहेको  सञ्चार ग्रामलाई प्रभावकारी रुपमा अघि बढाउन सबैको प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले रेडियो नेपाल र विराटनगर महानगरपालिकाको सहयोग र सहकार्यमा निर्माण भएको सञ्चार ग्राम सञ्चालनमा आएसँगै सञ्चार क्षेत्रको विकासमा ठुलो सहयोग पुग्ने  बताउनुभयो ।
कार्यक्रममा रेडियो नेपाल योजना विकास तथा विस्तार महाशाखा प्रमुख पुष्करराज गौतम, रेडियो नेपाल प्रसारण केन्द्र धरानका प्रमुख सुरेशप्रसाद बास्तोला तथा विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले सञ्चार ग्रामलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने विषयमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button