तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज उपमहानगरपालिकालाई शव वाहन खरिद गर्न प्रदेश सरकारको अनुदान

रुपन्देही । प्रदेश ५ सरकारले दाङको तुल्सीपुर र बाँकेको नेपालगञ्ज उपमहानगरपालिकालाई शव वाहन खरिद गर्न अनुदान उपलब्ध गराउने भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनको लागि शव वाहन अभाव भएको भन्दै प्रदेश ५ मन्त्रिपरिषद् बैठकले दुईवटा नगरपालिकालाई शव वाहन खरिद गर्न अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले दुई उपमहानगरपालिकालाई १५÷१५ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो ।

बांके र दाङमा संचालन गरिएका कोरोना विशेष आईसोलेसन अस्पतालमा कोरोनाका संक्रमितहरुको चाप बढिरहेको छ । शव वाहन खरिद गरिएपछि कोरोना संक्रमणबाट हुनसक्ने सम्भावित मृतकको शव व्यवस्थापन गर्न सहज हुने छ । त्यस्तै प्रदेशमा स्थापना गरिएका कोरोना परिक्षण प्रयोगशालामा लाग्ने किट, स्वाव संकलन, सुरक्षाकर्मी परिचालनलगायतको खर्च समेत व्यवस्थापन गर्ने गरि कोरोना भाईरस नियन्त्रण तथा उपचारकोष संचालन निर्देशिकालाई संशोधन गर्ने निर्णय गरिएको छ ।

बैठकले लैंगिक सम्पर्क विन्दु व्यवस्थापन कार्यविधि तथा प्रदेश बाल क्लब संजाल गठन तथा संचालन निर्देशिका २०७७ पारित गरेको छ । यस्तै प्रदेश ५ सरकारले कोरोनासंग सम्बन्धित विषयमा गरेका हरेक दिनका गतिविधि र प्रगति सार्वजनिक गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिएको सरकारका प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button