तपाईँ सुन्दै हुनुहुन्छः

ओपिडी सेवा संचालन भएपनि अत्यावश्यक अवस्थामा वाहेक अस्पलताल नजान चिकित्सहरुको सुझाव

काठमाडौं।अस्पतालहरुले लकडाउनको अवधिमा समेत नियमित ओपिडी सेवा सुरु गरेका भएपनि अत्यावश्यक अवस्थामा बाहेक अस्पताल नजान चिकित्सकहरुले आग्रह गर्नुभएको छ ।

अस्पतालबाट समेत कोरोना संक्रमण हुने जोखिम रहेकाले नियमित औषधि सेवन गरिरहेका विरामीले पुरानै औषधीलाई निरन्तरता दिन र स्वास्थ्यमा थप समस्या देखिएमा टेलिफोन लगायतका वैकल्पिक माध्यमबाट चिकित्सकसँग परामर्श गर्न पनि चिकित्सकहरुको सुझाव छ ।लकडाउनको सुरुवाती दिनहरुमा केही समय बन्द रहेपनि लकडाउनको अवधि लम्बिदै गएपछि वीर अस्पताल, सिभिल अस्पताल, मेडिसिटी, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र लगायत उपत्यकाका अधिकांश निजी तथा सार्वजनिक अस्पतालहरूले ओपिडि सेवा सुचारु गरेका छन् ।
ओपिडि सेवा सुरु भएपछि नियमित औषधि सेवन गरिरहेका व्यक्तिहरु तथा सामान्य अवस्थाका विरामीहरु समेत अस्पताल जाने गरेको पाइएको छ ।

लकडाउन अगाडी दैनिक २ हजारदेखि २५ सयसम्मको हाराहारीमा विरामीहरु ओपिडी सेवा लिनका लागि विर अस्पताल आउने गर्थे भने लकडाउनको अवस्थामा नियमित फलोअप लगायतका ओपिडी सेवा लिनका लागि दैनिक ४÷ ५ सय जना सम्म विरामी आउने गरेको विर अस्पतालका कार्यकारी निर्देशक डा केदारप्रसाद सेन्चुरीले जानकारी दिनुभयो ।
मुटु रोगका विरामीलाई उपचार सेवा दिँदै आएको शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा समेत हाल दैनिक १ सय ५० जना सम्म विरामी ओपिडि सेवाका लागि जाने गरेका छन् । केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीले अहिलेको असहज अवस्थामा अस्पतालहरुले ओपिडी सेवा संचालन गरेको भएपनि स्वास्थ्यमा जटिल समस्या नआई अस्पताल नजान र नियमित शारिरीक व्यायाम तथा पर्याप्त आराम गर्न सुझाव दिनुभयो ।

यसैगरी वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मुर्ति अनिलले लकडाउनको अवधिमा घरमा बसिरहेको अवस्थामा स्वास्थ्यमा कुनै समस्या देखिएमा सर्वप्रथम टेलिफोन तथा अन्य माध्यमबाट नियमित परिक्षण गराईरहेका चिकित्सक वा अन्य विशेषज्ञसँग परामर्श लिने र समस्या समाधान नभएमात्रै अस्पताल जान सल्लाह दिनुभयो ।

लकडाउनका समयमा लामो समयसम्म घरमै बसिरहँदा जो कोहीमा पनि टाउको दुख्ने, छाती दुख्ने, डर लाग्ने, मुटुको धड्कन बढ्ने जस्ता विभिन्न स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ । तर हालको असहज अवस्थामा तनाव र दैनिकीमा आएको परिवर्तनका कारण यस्ता लक्षणहरु देखिएको मुटुरोग विशेषज्ञ डा. अनिल बताउनुहुन्छ । उहाँले यस्तो अवस्था देखिएमा नआत्तिन र थप जटिल समस्या भए घरबाटै टेलिफोन वा अन्य माध्यमबाट चिकित्सक वा अन्य विशेषज्ञसँग परामर्श लिन समेत सुझाव दिनुभयो ।

यसैगरी सन्तुलित खानपान, नियमित व्यायाम र पर्याप्त आराम गरे यस्ता समस्याहरु आँफै समाधान हुने पनि मुटुरोग विशेषज्ञ डा. ओम मुर्ति अनिलको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button