तपाईँ सुन्दै हुनुहुन्छः

 भारतीयलाई धपाउन प्रहरीद्वारा झापाको सिमावर्ती क्षेत्रमा हवाई फायर

झापा । नेपाल भारतको सीमा क्षेत्र झापाको झापा गाउँपालिका–४ मा सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेका छन् ।
सय बढी भारतीय नागरिकले सुरक्षाकर्मीमाथि बल प्रयोग गरी नेपाल प्रवेश गर्न खोजेपछि सीमामा तैनाथ सशस्त्र प्रहरीले हवाई फायर गरेका हुन् ।

झापा गाउँपालिका–४ स्थित सुकुम्वासी बस्ती नजिकै सोमबार(हिजो) बेलुका पौने ५ बजे सो घटना भएको सशस्त्र प्रहरी बल २ नम्बर गण झापाले जनाएको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बादेखि सात किलोमिटर पूर्व १ सय ३१ नम्बर पिलर नजिकै बनाइएको अस्थायी पोस्टमा खटिएका सशस्त्र प्रहरीले भारतीय नागरिको समूहलाई खेदाउन हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका एसपी रेशमकुमार थक्सुले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुईजना भारतीय नागरिक भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपाल छिर्न खोजेका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीमामा तैनाथ सुरक्षाकर्मीले उनीहरूलाई छिर्न नदिई सम्झाई बुझाई फिर्ता पठाएका थिए ।

फिर्ता गएका ती दुई भारतीय नागरिकले करिव दुई सय गाउँले भेला गरी पुनः सीमा लिएर आएका थिए । घरेलु हातहतियारसहित आएका भारतीय नागरिकले नेपाल प्रवेश गरी सुरक्षा पोस्टमाथि आक्रमण गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेको हो । सशस्त्रले गोली चलाएपछि भारतीय नागरिक त्यहाँबाट भागेका थिए ।

घटनामा कुनै मानवीय क्षति नभएको सशस्त्र एसपी थक्सुले बताउनुभयो । यता सीमा हवाई फायर गर्नु परेपछि त्यहाँ उच्च सतर्कता अपनाइएको छ । नेपालका सुरक्षाकर्मीले भारतीय एसएसबीको समन्वय अहिले सीमा सुरक्षा गरिरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button