तपाईँ सुन्दै हुनुहुन्छः

लक डाउन उल्लंघन गर्ने दुई सयलाई कोरोना प्रशिक्षण

 दोलखा । लक डाउनको दोस्रो दिन पनि दोलखाको मुख्य बजारहरु र यातायात पूर्ण रुपमा बन्द भएका छन् । कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले आव्हान गरेको लक डाउनमा स्थानियले पूर्णत सहयोग गरेको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।

लक डाउनको उल्लङ्घन गर्ने केहिलाई भने सदरमुकाम चरिकोटको चोकमा राखिएको कोरोना सर्तकता केन्द्रमा केहि समय राखेर कोरोना भाईरसबाट बच्च अपनाउनु पर्ने सर्तकताबारे प्रशिक्षण दिएर छोडिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

बुधवार लक डाउन उल्लंघन गर्ने दुई सय जनालाई सदरमुकाम चरिकोटको सातदोबाटो चोकमा रहेको कोरोना सर्तकता केन्द्रमा केहि समय कोरोना भाईरसबाट बच्ने उपायको बारेमा प्रशिक्षण दिएर छोडिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनु भयो । सातदोबाटो चोकमा हेल्प डेक्स समेत राखिएको र आवश्यकता अनुसार शङ्कास्पद विरामीको ज्वरो परिक्षण गरिने व्यवस्था गरिएको पौडेलले बताउनुभयो ।

जिल्लामा बुधवार लक डाउन उल्लंघन गर्ने तीन वटा मोटरसाईकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो । लक डाउनको पहिलो दिन मंगलवार झण्डै ३० वटा सवारी साधान नियन्त्रणमा लिईएकोमा दोस्रो दिन बुधवार तीनवटा सवारी साधनमात्र नियन्त्रणमा लिईएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनु भयो । उहाँले लक डाउन प्रति स्थानियनै सचेत देखिएको बताउनु भयो ।

लक डाउनमा जनतालाई सुरक्षित महशुस गराउन र उल्लंघन भएमा उनीहरुलाई सम्झाई बुझाई घरमा पठाउन नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीले मुख्य मुख्य बजार क्षेत्रमा गस्ति गरिरहेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनु भयो ।

संक्रमण देखिएको छैन
दोलखामा अहिलेसम्म कोरोना भाईरस संक्रमण कोहिमा पनि नदेखिएको स्थानिय प्रशासनले जनाएको छ । सदरमुकाम चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पतालमा दैनिक ३०/४० जना विरामी उपचारको लागि आउने र त्यस मध्य केहिलाई रुघा खोकीको समस्या भएपनि कोरोना भाईरसको लक्ष्यण भएका विरामी नभएको प्रस्तावित चरिकोट अस्पतालको व्यवस्थापन गर्ने न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विनोद दंगालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button