तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुरको कलबलगुरीमा कोरोना क्वारेन्टाइन स्थापना

भद्रपुर, झापा । कोराना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै झापाको सदरमुकाम भद्रपुरमा आपतकालीन क्वारेन्टाइन स्थापना गरिएको छ ।

क्वारेन्टाइन स्थापना गर्न सोमबार प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले आग्रह गरेसँगै भद्रपुर नगरपालिकाले भद्रपुर १० स्थित कलबलगुरी प्रशिक्षण केन्द्रमा आपतकालीन क्वारेन्टाइन स्थापना गर्नेगरी मंगलबारबाटै काम शुरु गरिसकेको छ ।

कोरोना सङ्क्रमितको शङ्का लागेका मानिसलाई उचित स्वास्थ्य परीक्षणसहित स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक बन्दोबस्तीका सामग्री र चिकित्सकसमेत रहने गरी २५ शैय्याको क्वारेन्टाइन स्थापना गरिएको भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा यो पहिलो क्वारेन्टाइन हो ।

मङ्गलवार भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेना, रेडक्रसकर्मी, कर्मचारीसहितको टोलीले प्रशिक्षण केन्द्रको स्थलगत अनुगमन गरी तीव्रताका साथ सरसफाइलगायतका काम अघि बढाएको थियो भने आज बेड, ओड्ने, ओच्छ्उने, झुललगायतका सामानको व्यवस्था गरिने छ भने आवश्यक उपकरण र चिकित्सक रहने बताइएको छ ।

क्वारेन्टाइन सञ्चालनका लागि भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटीसहितको समिति गठन भएको छ ।

सबै निकायलाई आ–आफ्नो जिम्मेवारी दिइसकिएको बताउँदै नगरप्रमुख श्रेष्ठले यस कार्यमा सहयोग गर्न निजी क्षेत्रलाई पनि आग्रह गर्नुभएको छ । त्यहाँ चाहिने खानेपानी, बिजुलीलगायतका काम पनि आज सकिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button