तपाईँ सुन्दै हुनुहुन्छः

म्यान्मामा भ्रमण वर्षको प्रचार

म्यान्मा-म्यान्मा (बर्मा) को राजधानी याङ्गुनस्थित स्वेडागन प्यागोडामा बुधबार दीप प्रज्वलन गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ । स्वेडागन प्यागोडा बर्माको सबैभन्दा प्रसिद्ध धार्मिकस्थल हो । यहाँ दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक भ्रमण, ध्यान र पूजा अर्चनाका लागि पुग्छन् । म्यान्माका लागि नेपालका राजदूत भीमकृष्ण उदास र याङ्गुनका मुख्यमन्त्री फ्योमिन थेंले संयुक्तरूपमा दीप प्रज्वलन गर्नुभएको थियो । सो अवसरमा नेपाली मूलका बर्मेलीहरू र नेपालबाट बर्मा आएर काम गरिरहेकाहरुको उपस्थिति थियो ।

भ्रमण वर्ष प्रचार कार्यक्रममा उपस्थित भएकाहरूलाई नेपाली दूतावासले ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखिएको टिसर्ट वितरण गरेको थियो । कार्यक्रममा राजदूत उदासले म्यान्मा र नेपालको दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष र नेपाल भ्रमण वर्ष २०२० एकै साल परेकाले यो वर्षभरि नै म्यान्मामा विभिन्न कार्यक्रम गरी नेपालको प्रचारप्रसार गरिने जानकारी दिनुभयो ।

उहाँले भगवान् गौतम बुद्धको कपाल भएको स्वेडागन प्यागोडाबाट अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन भ्रमण वर्षको प्रचारप्रसार गर्न पाउँदा खुशी लागेको बताउनुभयो । भगवान् बुद्धको दर्शन गर्न पुगेका बर्माका दुई व्यापारीलाई बुद्धले उपहारस्वरूप दिनुभएको आफ्ना आठ वटा कपालका रौँ स्वेडागन प्यागोडामा राखिएको विश्वास बर्मेलीहरूले गर्छन् । कार्यक्रममा याङ्गुनका मुख्यमन्त्री फ्योमिन थेंले नेपाली मूलका गोरखा सैनिकहरूले बर्माको एकीकरणमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।

उहाँले भगवान् बुद्धको जन्मस्थल लुम्बिनी जानु हरेक बौद्धमार्गीको सपना हुने भन्दै धेरैभन्दा धेरै बर्मेलीलाई नेपाल पठाउन सहयोग गर्ने बताउनुभयो । करिब साढे पाँच करोड जनसङ्ख्या भएको बर्मामा ९० प्रतिशत बौद्धमार्गी छन् । म्यानमारका पर्यटनमन्त्री यु उन मुङ नेपाल भ्रमण वर्षको उपलक्ष्यमा अहिले नेपालमै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button