तपाईँ सुन्दै हुनुहुन्छः

जलपन्छी गणना गरिँदै

काठमाडौँ-यतिबेला नेपालका सिमसार क्षेत्रमा चराको चहलपहल बढदो छ । हिउँदको चिसो बढेसँगै न्यानो वासस्थान, आहार र प्रजननका लागि चरा उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धमा बसाइँसराइ गर्छन् । एकथरी चराले अन्तरदेशीय सीमाको लामो दूरी पार गरी नेपालमा बसाइँसराइ गर्छन् भने केहीले नेपालकै उच्च पहाडी भूभागबाट तराईमा छोटो दूरीको बसाइँसराइ गर्ने गरेका छन् । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधि गर्न शनिबारदेखि जलपन्छीको गणना गरिँदैछ ।

यही पुस १९ देखि माघ ५ गते (जनवरी ४ देखि १९) सम्म हुने जलपन्छी गणनामा विज्ञ, सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय, र सरकारी प्रतिनिधिलगायत गरी ३०० भन्दा बढी जनशक्ति परिचालन हुने बताइएको छ । सिमसार र आसपासको क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपन्छी भनिन्छ । स्वयंसेवीरूपमा गरिने यस गणनामा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई संरक्षणमा जनचेतना अभिवृद्धिसमेत गर्ने उद्देश्य रहेको गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिनुभयो ।

‘वेटलेण्ड इन्टरनेशनल’ संस्थाको समन्वयमा नेपालको ‘हिमाली प्रकृति’ संस्थासँगको सहकार्यमा स्वयंसेवीरूपमा यो गणना हुन लागेको हो । मुलुकभरका पाँच दर्जन बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गरिने जलपन्छी गणना तराई क्षेत्रका सिमसार क्षेत्रमा बढी केन्द्रित हुनेछ । वेटलेण्ड इन्टरनेशनलको अगुवाइमा विश्वभर नै यही समयमा जलपन्छी गणना हुने भएकाले विश्वभरकै जलपन्छीको सङ्ख्या आँकलन हुने उहाँले बताउनुभयो । यस गणनामा चरा चिन्ने विज्ञको नेतृत्वमा अन्य सहभागीको सहयोगले चरा पहिचान गरी गणना गरिन्छ । नेपालका सिमसार क्षेत्रमा यतिबेला विभिन्न प्रजातिका हाँस, बकुल्ला, लामा आउले, सुडसुडियलगायतका चरा बढी देखिन्छन् । गणनाको विवरण वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई बुझाइने र सार्वजनिक गरिने डा बरालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button