तपाईँ सुन्दै हुनुहुन्छः

कार्बन व्यापारको आम्दानी ग्यास उत्सर्जन नहुने वैकल्पिक मार्गमा लगानी

काठमाडौँ-विश्व बैंकअन्तर्गतको कार्बन कोषले नेपाललाई दिने रकमबाट नेपालमा प्रदूषण कम हुने वैकल्पिक विधिमा खर्च गर्न लागिएको छ ।

उक्त रकम जलवायु परिवर्तनको मारमा परेका जिल्लामा लगानी गरी त्यहाँको समस्या हल गर्न लागिएको हो । वातावरण प्रदूषणलगायतका अन्य समस्या समाधान गर्न वन तथा वातावरण मन्त्रालयले काठमाडौँ उपत्यकालगायत मुख्य शहरमा प्रदूषण नियन्त्रणका लागि रणनीतिक कार्ययोजना बनाएर काम शुरु गर्न लागेको बताएको छ ।

प्रदूषण न्यूनीकरणका लागि मन्त्रिपरिषद्बाट केही थप निर्णयहरु गरेर काम शुरु गर्न लागिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । चालू आर्थिक वर्षको अन्त्यसम्ममा प्रदूषण नियन्त्रणका क्षेत्रमा सबैले अनुभूति गर्नेगरी काम गर्न लागिएको उहाँले बताउनुभयो ।

जलवायु पविर्तनको क्षेत्रमा नेपालले ०.०२७ हरितगृह ग्यास उत्सर्जन गर्दै आएको छ । हरित ग्यास उत्सर्जनसँगै उत्पन्न परिस्थितिबाट नेपालले ठूलो असर भोग्दै आएको विज्ञहरु बताउँछन् । हिउँ पग्लिनु, बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टिलगायत असरबाट प्रभावित हुने मुलुकको अघिल्लो सूचीमा नेपाल रहेको छ । हरित ग्यास उत्सर्जनमा सबैभन्दा कम भूमिका हुँदाहुँदै पनि जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित हुने मुलुकमा नेपाल एक हो ।

हरित गृह ग्यास बढी उत्सर्जन गर्ने राष्ट्रले ‘ग्रिन क्लाइमेट फण्ड’लगायत विभिन्न कोषमा केही निश्चित रकम जम्मा गर्ने र त्यस्तो रकमबाट नेपालजस्तो अत्यधिक प्रभावित हुने मुलुकमा खर्च गर्ने व्यवस्था छ । नेपालले चार करोड अमेरिकी डलर प्राप्त गरेको र बाँकी तीन करोड २० लाख अमेरिकी डलर आगामी मार्चमा स्वीकृत हुने चरणमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button