तपाईँ सुन्दै हुनुहुन्छः

लिम्पियाधुरा समेतलाई समेटेर नयाँ नक्सा जारी गर्न समितिको निर्देशन

संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले नेपालको अतिक्रमित लिम्पियाधुरा समेतलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकमा सीमा विवाद सम्बन्धमा गृहमन्त्री, परराष्ट्रमन्त्री, भूमि व्यवस्था मन्त्री, वनमन्त्री लगायतसँग छलफल गरी लिम्पियाधुरा समेतलाई समेटेर नयाँ नक्सा जारी गर्न र त्यसलाई सरकारी कामकाज र शिक्षण संस्थामा उपयोग गर्न निर्देशन दिईएको हो ।

यसैगरी, समितिको बैठकले अतिक्रमणमा परेका स्थान नजिक आवश्यकताअनुसार नेपाली सेना र सशस्त्र प्रहरी सबै मौसममा बस्न सक्ने गरी सुरक्षा चौकी निर्माण गरी तैनाथ गर्न पनि निर्देशन दिएको छ ।

अतिक्रमित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई शिक्षा, स्वास्थ्य, बाटो लगायतका विशेष सेवासुविधा उपलव्ध गराउन समेत समितिले सरकालाई निर्देशन दिएको छ ।

यसअधि समितिको आज बसेको बैठकमा भएको छलफलका क्रममा गृहमन्त्री रामबहादुर थापाले देशका विभिन्न ठाउँमा थप ११२ वटा सुरक्षा पोष्ट खडा गर्ने प्रक्रिया अगाडी बढिसकेको बताउनुभयो ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले लिम्पियाधुरा नेपालको हो यसमा सरकार प्रष्ट रहेको र त्यस अनुरुप भारतीय पक्षलाई पत्राचार भईसकेको र अब केही समयमै कूटनीतिक प्रयास र बार्ताबाट समस्या समाधान गरिने र त्यसका लागि भारत तयार भएको जानकारी गराउनुभयो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा कुमारी अर्यालले विवादित भूमिका सन्दर्भमा कूटनीतिक रुपमा विवाद समाधान गरेर लिम्पियाधुरासहितको नयाँ नक्सा उपयुक्त समयमा जारी गर्ने तयारी रहेको बताउनुभयो ।

बैठकमा वनमन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय प्राथमिकताको विषयमा वन मन्त्रालयले वन क्षेत्र उपलब्ध गराउंदै आएको बताउनुभयो ।

बैठकमा समितीका सदस्यहरु भीम बहादुर रावल, गणेशसिंह ठगुन्ना, खेम लोहनी, राधेश्याम अधिकारी, अनिल कुमार झा, लक्ष्मी परियार र काली बहादुर मल्लले लिम्पियाधुरा समेतलाई समेटेर नयाँ नक्सा तत्काल जारी गर्न, अतिक्रमित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई शिक्षा, स्वास्थ्य, बाटोलगायतका बिशेष सेवासुविधा उपलब्ध गराउने लगायतको माग राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button