तपाईँ सुन्दै हुनुहुन्छः

शैलुङमा बर्षेनी १० करोड भन्दा बढीको आलु उत्पादन

तस्विरः शैलुङ्गको झोर मनगाँउमा आलु रोप्न तयार गरिएको बारी

दोलखा । दोलखाको शैलुङ गाँउपालिकाबाट मात्र बर्षमा १० करोडभन्दा बढी मूल्यको आलु उत्पादन हुने गरेको गाँउपालिकाले जनाएको छ ।

आठ करोड भन्दा बढी मूल्यको आलु शैलुङ गाँउपालिकाबाट उपत्यका तथा जिल्लाको अन्य ठाँउमा बिक्री वितरण भएको तथ्याङ्कले देखाएको गाँउपालिका प्रमुख भरत दुलालले बताउनुभयो ।

शैलुङ गाँउपालिकाबाट यो बर्ष २१ हजार टन आलु राजधानीलगायत जिल्लाकै अन्य ठाँउमा गएको तथ्याङ्क गाँउपालिकासंग रहेको गाँउपालिका प्रमुख दुलालले बताउनुभयो । गाँउपालिकामा उत्पादित आलुको मूल्य प्रतिपाथी ३५ रुपैयाले हिसाब गर्दा पनि यो बर्ष आठ करोड भन्दा बढी मूल्यको आलु बाहिरिएको गाँउपालिका प्रमुख दुलालको भनाई छ ।

स्थानीय स्तरमा प्रयोग भएको र गाँउपालिकासंग तथ्याङ्क नरहेको समेत हिसाब गर्दा शैलुङ गाँउपालिकामा ३० हजार टनभन्दा बाढी आलु उत्पादन भएको देखिएको र त्यसको मूल्य १० करोड भन्दा बढी हुने गाँउपालिकाले जनाएको छ ।

दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर १ को गैरी, ताम्चेत, सासीम, मेहेले, ग्योयी, बुट्टे, वडा नम्बर ३ को ढुङ्गे, देउराली, वडा नम्बर ६ को चैचाँप, चित्रे, भित्रे र वडा नम्बर ८ को झोर, मनगाँउ, सरनथली र कालापानीमा आलु उत्पादन हुने गरेको छ ।

गुणस्तरीय आलु उत्पादन हुने भएकोले देशभरी शैलुङको आलु भनेर चर्चा कमाएको र बजारको कुनै समस्या नभएको स्थानीय किसानहरु बताउछन् ।

तस्विरः शैलुङ्गको झोर मनगाँउमा आलु रोप्न तयार गरिएको बारी

आलु शैलुङ गाँउपालिकाको मुख्य कृषि उत्पादन भएकोले गाँउपालिकाको तर्फबाट आलु उत्पादन हुने क्षेत्रमा प्राथामिकताका साथ सडक निर्माण गरिएको, मूल बिउँ वितरण गरिदै आएको, कृषकहरुलाई तालिमको व्यवस्था गरिएको तथा प्रत्येक वडामा कृषि प्राविधिकको व्यवस्था गरिएको गाँउपालिकाका प्रमुख भरत दुलालको भनाई छ ।

आलुको प्रवद्धनको लागि बिभिन्न निकायको सहयोगमा गाँउपालिकाले अहिले पाँच वटा ठाँउमा चिस्यान केन्द्रको व्यवस्था गरेको र अहिले केन्द्रीय सरकारको सहयोगमा गाँउपालिकाले तीन सय मेट्रिक टन क्षमताको कोल स्टोर निर्माण सुरु गरेको प्रमुख दुलालले बताउनुभयो ।

पाँच करोडको लागतमा निर्माण सम्पन्न हुने कोल स्टोरको लागि गाँउपालिकाले ५० प्रतिशत लगानी गर्ने जनाईएको छ । तीन सय मेट्रिक टन क्षमताको उक्त कोल स्टोरमा दुई सय मेट्रिक टन आलु र बाँकी किवीलगायतका अन्य कृषि उत्पादनका वस्तुहरु स्टोर गर्न सकिने गाँउपालिकाले जनाएको छ ।

छ हजार घर धुरी रहेको शैलुङ गाँउपालिकाका झण्डै दुई हजार घरधुरीका किसानहरु व्यवसायीक आलु खेतीमा संलग्न रहेको र एक परिवारले बार्षिक तीन लाखसम्मको आलु बिक्री वितरण गर्दै आएको गाँउपालिकाले जनाएको छ । गाँउपालिकामा उत्पादित आलु मध्ये ८० प्रतिशत आलु बाहिरिने गरेको गाँउपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button