तपाईँ सुन्दै हुनुहुन्छः

कमलबिनायक -नगरकोट सडकखण्ड निमार्ण कार्य छिटो सम्पन्न गर्न मन्त्री नेम्वाङको निर्देशन

भक्तपुर । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले भक्तपुरको कमलबिनायबाट नगरकोट जाने पर्यटकीय सडक निमार्ण छिटो सम्पन्न र्गा निर्माण कम्पनी तथा सरोकारवालालाई निर्देशन दिनुभएको छ ।

उक्त सडकको अनुगमनका क्रममा आज मन्त्री नेम्वाङले अब अलमल गरेर र फाईल घुमाएर नबस्न निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिलाई उहाँले निर्देशन दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना र सडक निर्माणमा संसारको ध्यान समेत यस पर्यटकीय सडक निर्माणमा रहेको बताउँदै उहाँले निमार्ण कार्यलाई तिव्रता दिन स्थानीयको निरन्तर खवरदारी आवश्यक रहेको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य महेश बस्नेतले आयोजना समयमा निर्माण गर्नका लागि निरन्तर खवदारी गरिरहेको बताउनुभयो ।
त्यसैगरी चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले भक्तपुर नगरकोट सडक खण्ड निमार्ण कार्यमा ढिलाई हुदाँ संसदीय समिति र सरकारलाई गुहार्न बाध्य भएको बताउनुभयो ।

भक्तपुरको कमलविनायक नगरकोट सडक खण्डको निमार्ण कार्य २०७० साल मा दुई बर्षमा सम्पन्न गर्ने गरी भारतीय एक्जिम बैंकको ऋण सहयोगमा सैलुङ कन्ट्रक्सनले ठेक्का लिएको थियो ।

शैलुङ कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको सडक निमार्ण कार्य समयमै नसकेपछि मन्त्री नेम्वाङ सहित भक्तपुरका सांसद, स्थानीय जनप्रतिनिधि र सरकारी निकायका प्रमुखको टोलीले सडकको स्थलगत अनुगमन गरेको हो ।

सडक अनुगमनका क्रममा स्थानीयले समयमै सडक निमार्ण कार्य सम्पन्न नहुदाँ हिलो र धुलोको सास्ति खेप्नु परेको भन्दै आक्रोस पोखेका थिए
।यस अघि संसदको विकास तथा प्रविधि समितिले समेत सडकको स्थलगत कार्य अनुगमन गरी काम छिटो सक्न निर्देशन दिएको थियो ।

व्यवसायीका प्रतिनिधि सुदन गौलीले भने निर्माण सामग्रीको अभाव, स्थानीयको अवरोध र वन क्षेत्रका रुखहरु समयमै कटान नहुदाँ सडक निर्माण कार्य समयमै नसकिएको बताउनुभयो । उहाँले निर्माणका क्रममा रहेका अधिकांश बाधा फुक्दै गएको बताउँदै अब भने निर्माण कार्य तीब्र गतिमा अगि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button