तपाईँ सुन्दै हुनुहुन्छः

सबै स्थानीय तहलाई सडक सञ्जालसँग जोड्दैछौँ : मुख्यमन्त्री गुरुङ

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो प्रदेशअन्तर्गतका सबै स्थानीय तहलाई सडक सञ्जालले जोड्ने गरी योजना अघि बढाइरहेको बताउनुभएको छ ।

राइनास नगरपालिका–६ धमिलिकुवामा  आयोजित नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक स्तरोन्नति कार्यको शुभारम्भ गर्दै उहाँले गण्डकी प्रदेशका प्रत्येक निर्वाचन क्षेत्र र ती अन्तर्गतका गाउँ तथा नगरपालिका गरी ८५ वटै स्थानीय तहसम्म सडक पु¥याउने योजनाका साथ काम अघि बढिरहेको बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकार मातहतका कार्यालयमा पर्याप्त कर्मचारी, बजेट र आवश्यकताअनुरुप भौतिक संरचना नहुँदा कामले गति लिन नसकेको बताउनुभयो । लमजुङका मध्यनेपाल, सुन्दरबजार, राइनास नगरपालिका, क्व्होलासोथर, दोर्दी गाउँपालिकालगायत विभिन्न तहमा सडक निर्माणको काम भइरहेको बताउँदै उहाँले भविष्यमा ती स्थानको प्रदेशसम्मको पहुँच निकै सहज हुनेछ भन्नुभयो ।
मुख्यमन्त्री गुरुङले आगामी दिनमा सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गर्दै प्रभावकारी ढङ्गले योजना तथा कार्यक्रमलाई अघि बढाउने जानकारी गराउँदै लमजुङका सबै गाउँपालिका र गाउँपालिकालाई सडक सुविधाबाट बञ्चित नगराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही अवसरमा मुख्यमन्त्री गुरुङले तनहुँको भानु नगरपालिका नेपालडाँडाबाट तार्कुघाट, धमिलिकुवा हुँदै बोराङखोलासम्मको सडक स्तरोन्नति कार्यको शुभारम्भ पनि गर्नुभयो ।

भौतिक पूर्वाधार मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय पूर्वाधार विकास कार्यालय लमजुङमार्फत ‘एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम’ अन्तर्गत १० किलोमिटर सडक कालोपत्र गरिने भएको हो । २८ करोड ८४ लाख ८३ हजार १८७ रुपैयाँ ५५ पैसा भ्याटबाहेकको बजेट रहेको सो आयोजनाको निर्माणको जिम्मा लामा कन्स्ट्रक्शन प्रालिले लिएको छ ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेशका प्रमुख सचेतक एवं प्रदेशसभा सदस्य मायानाथ अधिकारी, प्रदेशसभा सदस्यद्वय धनञ्जय दवाडी र मुधमाया अधिकारी, राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापालगायतले सडक निर्माणको काम गुणस्तरीय तरिकाले गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button