तपाईँ सुन्दै हुनुहुन्छः

फष्टाउँदै व्यावसायिक च्याउखेती

भीमदत्तनगर । थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि कञ्चनपुरको दक्षिणी क्षेत्रका किसान च्याउखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–५ सुर्दशनपुरका किसान समूह र एकलरुपमा व्यावसायिकरुपमा च्याउखेती गरिरहेका छन् ।

तीन वर्षदेखि गाउँमा हजारी आइपिएम कृषक समूह बनाएर यहाँका महिला च्याउखेती गरेर मनग्य आम्दानीसमेत गरिरहेको स्थानीय किसानहरुले बताएका छन् ।

गाउँका २८ जना समूहमा आबद्ध भएर सामूहिक च्याउखेती गरिरहेको बताउँदै कृषक समूहकी सचिव शान्ति चौधरीले अनुदान सहयोग मिलेपछि एक टनेल थप गरेर व्यवसायलाई विस्तार गरिएको बताउनुभयो ।

उहाँले गाउँघर र नजिकैको बेलौरी बजारमा च्याउ बिक्री वितरण हँुदै आएको जानकारी दिनुभयो ।

त्यसैगरी उक्त समूहलाई च्याउ उत्पादनका लागि टर्नेल (च्याउखेती गर्ने कच्ची घर) बनाउन कृषि ज्ञान केन्द्रले पनि रु ३४ हजार सहयोग गरेको थियो ।

बेलौरी नगरपालिका–५ का वडाध्यक्ष सेटुकुमार चौधरीले स्थानीय तहले पनि च्याउ उत्पादनका लागेका किसानलाई गत वर्षदेखि सहयोग गरिरहेको बताउनुभयो ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए)ले यहाँका स्थानीय तहका विपन्न समुदायका किसानको आयस्तर उकास्न गरिबी निवारण कोष र जीविकोपार्जन कार्यक्रमअन्तर्गत च्याउखेती गर्ने किसानलाई बिरुवा वितरण, टनेल निर्माण र अनुदानसमेत उपलब्ध गराउँदै आएको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंहले कञ्चनपुर र कैलालीमा दुई वटा शीर्षकमा अनुदान रकम आएको बताउँदै ५० प्रतिशत अनुदान सहयोगमा किसानले समूह र एकल रुपमा च्याउखेती गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button