तपाईँ सुन्दै हुनुहुन्छः

३५ वर्षदेखि काठे कुलोको भरमा सिचाई

सल्यान । कालिमाटी गाउँपालिका २ जेलेनी र बराढुंगाका किसान कोठेकुलोको माध्यमबाट सिचाई गर्दै आइरहेका छन् । पक्की कुलो निमार्णका लागि सरकारसँग माग गरे पनि कुनै सुनुवाई नहुँदा विगत ३५ वर्षदेखि काठे कुलोको माध्यमबाट सिचाई गर्दै आइरहेका हुन ।

गाउँ नजिकै रहेको खोलामा पानी बगी रहेको भएपनि पक्की कुलोको अभावमा आफ्नो जमिन बाँझै राख्न बाध्य भएको जेलेनीकी ललिता पुनले बताइन । काठको जीर्ण कुलोले गाउँका सबैको जमिन सिचाई गर्न निकै समस्या हुने गरेको उनको भनाई छ ।

मौसमी तथा बेमौसमी तरकारी तथा खाद्यन्नबाली राम्रो उत्पादन हुने भएपनि सिचाई कुलाको अभावका कारण खेती गर्न नपाएको अर्का स्थानीय शिवलाल ओलीले बताए । उनले भने ‘सरकारसँग पक्की कुलो निमार्णका लागि माग गरे पनि कुनै सुनुवाई हुँदैन, कोठे कुलोले दिन कटाई रहेका छौं ।’

जेलेनी र बराढुंगाका करिब ३० घरधुरीले विगत ३५ वर्षदेखि काठको कुलोको भरमा खेती गर्दै आइरहेका छन् । कोठको कुलो जीर्ण हुँदा पानी बीच बाटोमै चुहिने ओलीले बताए । उनले भने ‘बर्र्षेनी कुलोका लागि काठ काट्न सामुदायिक वनले दिदैन् । पुरानै जीर्ण काठको कुलोलाई मर्मत गरी पानी चलाई रहेका छौं ।’

२०४८ सालदेखि कुलोको माग गरे पनि सम्बन्धीत निकायले अहिलेसम्म नसुनेको बेल बहादुर वलीले बताए । उनले भने ‘सिँचाइका लागि काठे कुलोको भर पर्नुपरेको छ । त्यसबाट पानी चुहिने भएकाले खेतबारीमा आवश्यकताअनुसार सिँचाई गर्न सकिएको छैन ।’

वडा २ का अध्यक्ष इन्द्रबहादुर ओलीले भौगोलिक विकटले योजना सञ्चालन गर्न थोरै रकमले नपुग्ने भएकाले सिँचाइ कुलो निर्माण गर्न नसकेको बताए । वडा २ गाउँपालिकाकै सबैभन्दा ठूलो वडा भएको र गाउँ पनि धेरै भएकाले जेलेनी, बराढुंगाका स्थानीयको माग पुरा गर्न नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button