तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन बर्ष २०२० : मकवानपुरमा बिजय उत्सवदेखि प्याराग्लाईडिङसम्म

मकवानपुर । सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै जिल्ला समन्वय समिति मकवानपुरले मकवानपुर गढिमा बिजय उत्सव मनाउनेदेखि जिल्लाको उत्तरी पर्यटकीय गन्तव्य मानव निर्मित इन्द्रसरोवरमा प्याराग्लाईडिङ गर्नेसम्मको कार्यक्रम सार्बजनीक गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पर्यटन बर्षलाई सफल बनाउँनका लागि समन्वय समितिले जिल्लाको प्रमुख नाका क्षेत्रमा गन्तव्य चिनाउने होडिङ बोर्ड राख्ने, जिल्लामा रहेका अधिकांस पर्यटकीयस्थलको चित्रसहितको ब्रोसियर प्रकाशन गर्ने भएको छ । भ्रमण वर्षलार्ई लक्षित गरी पर्यटकको स्वागतका लागि हेटौंडाको बुद्ध चोक र शहिद स्मारकमा, मनहरी गाउँपालिकाले लोथरमा, थाहा नगरपालिकाले टिस्टुङ दामेचौरमा, ईन्द्रसरोवर गाउँपालिकाले हुमाने भञ्ज्याङमा र बागमति गाउँपालिकाले झुरझुरेमा होडिङ बोर्ड राख्ने तयारी भएको जानकारी दिनुभयो ।

सरकारले घोषणा गरेको पर्यटन बर्षलाई सफल बनाउन हामी सबैको जिम्मेवारी भएकाले सोही अनुसार योजना तयार पारिएको समन्वय समितिका प्रमुख खुलालले जानकारी दिनुभयो ।

कार्यक्रम अनुसार पर्यटन बर्षलक्षित गरी भ्रमण वर्ष २०२० को लोगोसहितको क्याप टोपी तयार गर्ने, प्रत्येक स्थानीय तहहरुले आफ्नो क्षेत्रमा भएका पर्यटन स्थलहरुमा पुग्ने बाटो सरसफाई र मर्मत सम्हार गर्ने, जनवरी १ मा जिससले शहिद स्मारकमा र प्रत्येक स्थानीय तहहरुले आफ्नो स्थानीय तहमै आन्तरिक तथा वाह्य पर्यटकलाई स्वागत कार्यक्रम गर्ने तय भएको उहाँले जानकारी दिनुभयो ।

भ्रमण बर्ष लक्षित गरी ऐतिहासिम मकवानपुर गढिमा माघ १० गते विजय उत्सव मनाउने र हेटौंडाको सहिद स्मारकमा भ्रमण वर्षलक्षित गरी माघ १० देखि १६ सम्म सहिद सप्ताह मनाउने कार्यक्रम तय गरीएको प्रमुख खुलालले जानकारी दिनुभयो ।

त्यस्तै पर्यटनको आगमनसँगै मुलुक समृद्धिको यात्रामा अघि बढ्ने बिश्वास रहेकाले मकवानवपुरका होटल व्यवसायीले स्थानीय उत्पादनलाई प्रर्बद्धन गर्ने गरी नेपाली खानाको मेनुसहित तयार गर्ने र भ्रमण वर्षलक्षित खानामा प्रतिशत छुट दिने भएको उहाँले बताउनुभयो । साथै होटलसम्म आएका पर्यटकका लागि यातायतको व्यवस्थापन गर्ने निर्णय भएको समेत उहाँले बताउनुभएको छ ।

यस्तै भ्रमण वर्ष लक्षित गरेर हेटौंडा राईडर्स कल्बले शनिबार अफरोड च्याम्पियन शिप प्रतियोगिता आयोजना गर्ने छ भने डिसेम्बर ३१ मा ईन्द्रसरोवर गाउँपालिकाले ईन्द्रसरोवर तालमाथि प्याग्लाईडिङसहित स्थानीय संस्कृति झल्कने सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको उहाँले बताउनुभयो ।

भ्रमण वर्षका लागि प्रत्येक पालिकाले तोक्यो तीन /तीन गन्तव्य
समन्वय समितिको पहलमा जिल्लामा रहेका १० स्थानीय तहले प्रदेश सरकारले प्रति स्थानिय तह तीन पर्यटकीय गन्तव्य माग गरेको थियो । स्थानीय तहले जिल्लामा रहेका ३० प्रमुख गन्तव्य प्रदेश सरकारलाई दिएको समितीका प्रमुख खुलालले जानकारी दिनुभयो । जिल्लाका १० पालिकाबाट तीन/तीन वटाका दरले ३० वटा महत्वपुर्ण पर्यटकिय गन्तव्य तोकिएको हो ।

जिल्लामा अन्य थुप्रै पर्यटन गन्तव्य भएता पनि हरेक पालिकाबाट तीन वटा महत्वपुर्ण गन्तव्यलाई भ्रमर्ण वर्षका लागि छनोट गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमख एवम् जिल्ला स्तरीय भ्रमण वर्ष समितिका संयोजक रघुनाथ खुलालले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय तहहरुबाट माग गरे अनुसार जिल्लाका १० वटै स्थानीय तहहरुले आ–आफ्नो स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्य मध्ये महत्वपुर्ण गन्तव्य भ्रमर्ण वर्ष लक्षित गरेर छनोट गरेको तथा सो स्थानसम्म पुग्ने सडक संजालल र गन्तव्यको विवरण पठाएका हुन् । स्थानीय तहहरुले पठाएका गन्तव्यहरुमा हेटौंडा उपमहानगरपालिकाले वडा नम्बर ११ स्थित सहिद स्मारक पार्क, वडा नम्बर १५ को चुरीयामाई सुरुंग तथा चुरीयामाई मन्दिर र वडा नम्बर १८ को मुर्तिकला बगैचालाई तोकोको हो ।

त्यस्तै थाहा नगरपालिकाले दामन–सिमभञ्ज्याङ, चित्लाङ र राष्ट्रिय विभुती पार्क (मुलाबारी चौरलाई प्रमुख पर्यटकिय गन्तव्यका रुपमा लिएको छ । मनहरी गाउँपालिकाले मनहरी पीश पार्क, रमौली जंगल सफारी र बनकरीया होमस्टे, मकवानपुरगढि गाउँपालिकाले ऐतिहासिक मकवानपुरगढी दरवार क्षेत्र, मनकामना मन्दिर र शहिद रुद्रबाटिका पार्क, बकैया गाउँपालिकाले गौतम बुद्ध पर्यटन पार्क, धानेश्वर पार्क र बकैया ठाकुर पर्यटन पार्क, बागमति गाउँपालिकाले शहिद स्मारक झुरझुरे, गोल्मे दरवार क्षेत्र र बेतीनी पिकनिक स्पोर्ट, भिमफेदी गाउँपालिकाले चिसापानी गढी, हात्तिसार र त्रि खण्डी मन्दिर, राक्सिराङ्ग गाउँपालिकाले पाईराङ्ग भिम्बुङ्ग पर्यटकीय स्थल, जलपरी झरना÷चमेरे गुफा र चेपाङ्ग संग्राहालय, कैलाश गाउँपालिकाले कैलाश बैकुण्ठ, देखारी पर्यटक पार्क र घैराङ पर्यटक पार्क तथा ईन्द्रसरोवर गाउँपालिकाले ईन्द्रसरोवर ताल र तालका अन्य क्षेत्रहरु, भालेश्वर मन्दिर (चन्द्रागिरी केवलकार) छावडाँडा र मदन भण्डारी फाखेल मैत्रीपार्क चौकोट देवी मन्दिरलाई पालिका भित्रका प्रमुख पर्यटक गन्तव्य निर्धारण गरेर काम सुरु गरेका छन् ।

पत्रकार सममेलनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले मकवानपुरमा भ्रमण वर्ष २०२० को स्वागतको भव्य रुपमा तयारी भईरहेको बताउनुभयो । बिभिन्न संघसंस्थाहरुलाई समेत समेट्दै भ्रमण वर्षको भव्य रुपमा स्वागत गर्ने तयारी भईरहेको प्रमुख खुलालले बताउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button