तपाईँ सुन्दै हुनुहुन्छः

सडक निर्माण थालेको १२ वर्ष पुगे पनि निर्माण अझै अलपत्र

जाजरकोट। जाजरकोट भएर बाहिरी जिल्ला जाने रणनीतिक सडक निर्माण कार्य सुस्त हुँदा स्थानीयवासीलाई सास्ती हुँदै आएको छ । जाजरकोट–ब्युलीढुङ्गा–जुम्ला सडक निर्माण थालेको १२ वर्ष पुगे पनि ८० किलोमिटर सडकको ४० किलोमिटर पनि ट्र्याक खुल्न सकेको छैन । जुम्ला जोड्ने यो सम्भावित रणनीतिक मार्गमा करिब रु २५ करोड खर्च भइसकेको छ ।

अर्को ९० किमि लामो जाजरकोट छेडा–चाँदे–जुम्ला सडकको ३५ किमि मात्र निर्माण भएको छ । बाह्र वर्षअघि काम शुरु भएको उक्त सडकमा रु ३० करोड खर्च भइसकेको छ । त्यस्तै, १४० किमि लम्बाइको जाजरकोट–बारेकोट–चाखुरे–जुम्ला सडकको काम ३० किमिमा सीमित छ । रु २० करोड खर्च भइसकेको सो सडकको निर्माण ठप्प छ । जाजरकोट–जुम्ला जोड्ने यी तीनवटा रणनीतिक मार्गको निर्माण सुस्त छ । उक्त मार्गको पूरा ट्र्याक खोल्न सम्बन्धित निकायले ध्यान नदिँदा समस्या हुँदै आएको हो  । बजेट अभाव र सम्बन्धित निकायको चरम ढिलासुस्तीले निर्माणमा चुनौती थपिँदै आएको छ  ।

जाजरकोट–डोल्पा अर्थात् भेरी करिडोर र मध्यपहाडी लोकमार्गको निर्माण पनि सुस्त छ । जुम्ला जोड्ने रणनीतिक मार्ग प्रदेश सरकार मातहतमा आएकाले निर्माणमा अन्योल देखिएको सडक डिभिजन चौरजहारीका इञ्जिनीयर कुशल भुसालले बताउनुभयो  । विगत वर्षसम्म जे जति निर्माण भए पनि बाँकी कार्य प्रदेश सरकार मातहतका कार्यालयले हेर्ने निर्णय भएको उहाँको भनाइ छ ।

रणनीतिक सडकको बजेटबारे जानकारी नभएको र कार्यालयमा बजेट पनि नआएको उहाँले जानकारी दिनुभयो  । डिभिजन कार्यालयमा भेरी करिडोर, लुम्बिनी–रारा सडक र अन्य केही साना सडकका लागि बजेट आएको उहाँले जानकारी दिनुभयो  । कार्यालयका अनुसार भेरी करिडोर स्तरोन्नतिका लागि २२ करोड र लुम्बिनी–रारा जोड्ने दुई सडकको सर्भे डिजाइनका लागि रु एक÷एक करोड बजेट आएको छ । भेरी करिडोर सडकको बहुवर्षीय ठेक्काका लागि सम्बन्धित निकायसँग सहमति लिने प्रक्रियामा छ ।

डिभिजन कार्यालयलाई तीन सम्भावित रणनीतिक मार्ग र २८ क्षेत्रीय तथा शहरी सडक निर्माणको जिम्मा थियो । सङ्घीय संरचनासँगै केही सडक प्रदेश र केही स्थानीय तहअन्तर्गत सारिँदा निर्माण सुस्त भएको हो । कुनै सडकमा मनोमानीे सर्भे तथा रेखाङ्कन, कुनैमा कडा चट्टान कटिङ नगर्दा र कुनैमा नाली, तारजाली–वाल, ढल निकास र ग्राभेललगायत स्तरोन्नति नहुँदा अलपत्र परेका हुन् । कर्णाली प्रदेश सरकारले पनि उक्त सडक निर्माणका लागि हालसम्म पहल गरेको छैन । रणनीतिक मार्ग चौडा बनाउने, नाली, तारजाली–वाल, ढल निकास र ग्राभेललगायत स्तरोन्नति गर्ने त परको कुरा, ट्र्याक खोल्ने कार्य नै अलपत्र छ ।

त्यस्तै तीनवटै रणनीतिक राजमार्गको ग्रेडिङ तथा घुम्तीको ‘स्पेस’ नमिलेको र विभिन्न खोलामा पुल हाल्न ढिलाइ भएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताउनुभयो  । ट्र्याक खोल्नै करोडौँ खर्च भएका यी सडकमा यातायातका साधन नगुड्दा लगानी खेर गएको उहाँको भनाइ छ । सडक खण्डको गारराङ्सीदेखि नाउलीसम्मको रेखाङ्कन गाडी चढ्नै नसक्ने गरी भएको रावलको भनाइ छ ।

पछिल्लो समय मध्यपहाडी लोकमार्ग स्तरोन्नति अगाडि बढेको छ । आयोजनाको ट्र्याक खोलिएको आठ वर्षपछि स्तरोन्नति थालिएको हो । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना (पश्चिम खण्ड) दैलेखले जाजरकोट खण्डको कुदुदेखि कार्कीगाउँसम्मको ३५ किमि सडक पहिलो चरणमा कालोपत्र शुरु गरेको जनाएको छ । रु एक अर्बको लागतमा शर्मा सिंह एण्ड ब्रदर्स जेभी काठमाडौँले कालोपत्र गर्न लागेको व्यवसायी विश्वास उप्रेतीले बताउनुभयो ।

त्यस्तै जाजरकोट–डोल्पा राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि भेरी करिडोरअन्तर्गतको जाजरकोट डोल्पा सडकको जिरो प्वाइन्ट पासागाडदेखि नै स्तरोन्नति अघि बढ्न सकेको छैन । एक सय १८ किमि जाजरकोट–डोल्पाको पहिलो चरणको सडकको ट्र्याक मात्र खोलिएको छ तर, सो सडकअन्तर्गत पर्ने दर्जनभन्दा बढी खोलामा पुलको निर्माण तथा स्तरोन्नति नहुँदा यातायात सञ्चालनमा समस्या भएको स्थानीयवासी बताउँछन्  । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button