अछाममा १ सय ३७ छाउगोठ भत्काइयो
अछाम । अछाममा पछिल्लो एक हप्तामा १ सय ३७ छाउपडी गोठ भत्काइएका छन् ।
गत मंसिर १५ गते राती जिल्लाको साँफेबगर ३ सिद्धेश्वरकी २२ बर्षीया पावर्त बुढा रावतको छाउगोठमै ज्यान गएपछि छाउपडी प्रथा न्यूनिकरणमा दबाबमूलक अभियान अन्तर्गत छाउगोठ भत्काइन थालिएको हो ।
जिल्लाका साँफेबगर नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकामा १ सय ३७ छाउपडी गोठ भत्काइएको प्रहरीले जनाएको छ । छाउगोठमा बसेकै कारण जिल्लामा पछिल्लो १४ बर्षमा १५ जना महिला र किशोरीको ज्यान गएको भन्दै उक्त छाउगोठहरु प्रहरी, जनप्रतिनिधि र स्थानीय मिलेर भत्काइएको हो ।
बिहिबार मात्रै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटमा ९, वडा नम्बर १३ मा १०, वडा नम्बर २ मा ३६ छाउपडी गोठ भत्काइएको अछामका प्रहरी नायब उपरिक्षक डिएसपी दीपक भारतीले बताउनु भयो । यस्तै पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ मा २२ वटा छाउपडी गोठ भत्काईएका प्रहरीले जनाएको छ । यसअघि साँफेबगर नगरपालिकाका वडा नम्बर ३ र ४ का विभिन्न टोलमा ६० छाउपडी गोठ भत्काईएको थिए ।
छाउगोठ भत्काउँदै छाउपडी प्रथा, यसबारे बनेको कानून, यसले पार्ने असर लगायतका बिषयमा प्रहरीले जानकारी समेत गराएको छ । पावर्ततिको छाउगोठमा ज्यान गएपछि अहिले उनका जेठाजु मुलुकि अपराध संहिता अनुसार हिरासतमा रहेका छन् ।
छाउप्रथा मान्नेलाई विभिन्न सेवासुविधा रोक्ने साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवर बताउनु हुन्छ । महान्यायधिवत्ताको कार्यालयले छाउगोठमा बस्ने र बस्न लगाउनेलाई कारबाही गर्न कडा निर्देशन दिएको छ भने गृह मन्त्रालयले पनि छाउ प्रथा मान्नेको सामाजिक सुरक्षा भत्ता रोक्न र जनचेतनाका कार्य गर्न सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुमा निर्देशन दिएको छ ।
कानूनको कार्यान्वयनका लागि आफु पछि नहट्ने अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्