तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको व्यासमा पहिलोपटक पर्यो फलामको खोरमा पोथी चितुवा (तस्बिरसहित)

तनहुँ । तनहुँको व्यास नगरपालिका भित्र पहिलोपटक पोथी चितुवा फलामको खोरमा परेको छ । बुधबार राती व्यास– ९ स्याकुन्थोकस्थित स्याकुन्थोक सामुदायिक बनमा राखिएको फलामे खोरमा चितुवा परेको हो ।

करिब एक महिना अगाडी उक्त बनमा फलामको खोर राखिएको डिभिजन बन कार्यालय तनहुँमा प्रमुख केदार बरालले जानकारी दिनुभयो । बुधबार राती छैटाँै चितुवा खोरमा परेको प्रमुख बरालले बताउनुभयो ।

यसअघि भानु नगरपालिकाको विभिन्न बनमा राखिएको काठको खोरमा ५ वटा चितुवा परेका थिए । ’व्यास नगरपालिका भित्र भने यो पहिलो चितुवा त्यो पनि फलामे खोरमा परेको ।’ प्रमुख बरालले भन्नुभयो ’मानव र जनावर बीच द्वन्द नभएको क्षेत्रमा पहिलो पटक चितुवा खोरमा परेको हो ।’
व्यास नगरपालिका वडा नं. ९ मा व्यापक रुपमा बाख्रा मार्ने र मान्छेको बाटो छेकिरहेको भनि आएको जनगुनासो आएपछि पासो थापिएको फलामे खोरमा चितुवा परेको प्रमुख बरालले बताउनुभयो ।

यस अघि उक्त फलामे खोरमा बनबिरालो परेको थियो तर हिजो राति भने चितुवा परेको उहाँले बताउनुभयो । ’यतिन्जेलसम्म परम्परागत काठे खोरमा मात्र र भानु नगरपालिका क्षेत्रमा मात्र चितुवा खोरमा परेको थियो ।’ उहाँले भन्नुभयो ’तर यसपटक फरक स्थान र पहिलो पटक फलामे खोरमा चितुवा पर्यो ।’ ’चितुवा अन्दाजी पाँचदेखि छ वर्षको र ३० केजी जति तौल भएको देखिन्छ ।’ प्रमुख बरालले भन्नुभयो ’यो पोथी चितुवा हो र यसको जिल्ला बाहिर व्यवस्थापन हुदैछ ।’

’तराई तिर लैजाने तयारी भईरहेको छ ।’ प्रमुख बरालले भन्नुभयो ’तर तनहुँको चितुवा भनेर लिन मानिरहेका छैनन ।’ उहाँका अनुसार उक्त पोथी चितुवालाई ढाङको चिडियाखान अथवा बुटवल वा चितवन पठाउने कुरा भईरहेको छ ।

उक्त चितुवा मान्छे खाने चितुवा हो या होइन त्यो भनेर अहिले नै एकिन हुन नसकेको डिभिजन बन प्रमुख बरालको भनाई छ । तर हेर्दा एकदम आक्रामक देखिने उहाँले बताउनुभयो ।

भानु नगरपालिकाको विभिन्न वडामा पटक–पटक चितुवाले आक्रमण गरी बालबलिकाको ज्यान लिन थालेपछि केहीसमय अघि त्यस क्षेत्रमा पुजापाठसमेत गरिएको थियो ।

भानु नगरपालिकाको १, २, ३ र ४ नम्बर वडाका दुईसय ५२ घर धुरीका पाँच सयभन्दा बढी स्थानीयको सहभागितामा त्यहाँको कालिका मन्दिरमा केही महिना अघि पुजा लगाएका थिए ।

भीमसेन थुम्कामा दशवटा र थप्रेक कालिका मन्दिरमा दुईवटा गरी बाह्रवटा बोकालाई बलि दिइएको थियो । पहिलेदेखि नै चलिआएको परम्पराको संस्कारलाई निरन्तरता दिएको स्थानीयको भनाइ छ ।

करिब २२ महिनाको अवधिमा चितुवाको आक्रमणमा परी भानु नगरपालिकामा ६ जना बालबालिकाको ज्यान गइसकेको छ भने चार जना घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button