तपाईँ सुन्दै हुनुहुन्छः

अवैध धन्दामा सलंग्न सय भन्दा बढी विदेशी पक्राउ

काठमाडौं । गैरकानूनी गतिविधिमा संलग्न रहेकोे आरोपमा प्रहरीले काठमाण्डौका विभिन्न स्थानबाट एकसय जना भन्दा वढी चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

‘सर्च एण्ड एरेष्ट’ अपरेशन चलाएर प्रहरीले गैरकानूनी रुपमा नेपालमा बसी अवैध गतिविधि गरेको आरोपमा ठूलो संख्यामा चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको हो । सामूहिक रुपमा बसेर अबैध रुपमा सूचना प्रविधि र होटल लगायतका क्षेत्रमा काम गरिरहेका चिनियाँ नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

एउटै घरमा २५ देखि ३० जनासम्म बस्ने र गैरकानूनी गतिविधि गर्ने गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई काठमाडौं प्रहरी मातहतका विभिन्न वृत्त र प्रभागमा राखेर अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । भिजिट भिसामा नेपाल आएर, कार्यालय खोली गैरकानुनी गतिविधि गर्ने चिनियाँ नागरिकहरुलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको बोगटीले वताउनुभयो ।

परिसरले ‘विशेष अपरेसन’ चलाएर बूढानीलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । बैंकिङ प्रणाली ह्याकिङ प्रकरणमा चिनियाँ नागरिकहरुको संलग्नता पुष्टी भएपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button