तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपहाडी लोकमार्गको ठुलो पहिरो नगरपालिकाले हटायो, ठेकेदार फर्केनन्

अछाम । पुष्पलाल (मध्येपहाडी) लोकमार्ग अन्तर्गत मंगलसेन र ठुलासेन बजारको बीचमा गएको पहिरो हटाईएको छ ।

लोकमार्गको अछाम खण्डमा पर्ने सडकमा बर्षातको बेला खसेका पहिरा अझैँ नहटाउँदा दुर्घटना बढ्न थालेका सम्बन्धि समाचार रेडियो नेपालबाट प्रशारण भएपछि पहिरो हटाईएको हो । मंगलसैन नगरपालिकाले पहिरो हटाएपछि उक्त स्थानमा आवागमन सहज बनेको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत मंगलसैन ठाटीखाँद खण्ड कालोपत्रेको जिम्मा पाएको चन्द्रा, बसन्ता निर्माण सेवा कालोपत्रे गरि गएपछि बिग्रेका सडक फेरि मर्मत गर्न नआएपछि मंगलसैन नगरपालिकाले पहिरो हटाएको हो । आफ्नो डोजरबाट उक्त पहिरो हटाएको मंगलसैन नगरप्रमुख पदम बोहराले बताउनुभयो । सडक निर्माण गरेको एक बर्ष्भित्र मर्मत गर्ने जिम्मेवारी निर्माण कम्पनिकै रहने गर्दछ ।

उक्त स्थानको पहिरो नगरपालिकाले हटाएपनि अन्य स्थानका सानाठुला पहिरा, सडक, नाली मर्मतको कामभने बाकी नै छ । बेलखेतदेखि मंगलसैन सम्म ४८ किलोमिटर तथा कैलाशखोला देखि बयालपाटा सम्मको ११ किलोमिटर खण्डमा पहिरो, सडकमा राखिएका गिट्टी लगायतका कारणबाट दुर्घटनाका घटना बढीरहेका हुन् ।

बेलखेत– बिनायक, ठाँटीखाँद– मंगलसैन तथा कैलाशखोला–बयालपाटा खण्ड कालोपत्रेको काम भैसकेको छ भने बिनायक देखि ठाँटीखाँद खण्डको ६ किलोमिटर सडक अझैँ कालोपत्रे हुन बाँकी रहेको लोकमार्गको अछाम खण्डका ईन्जिनियर तुलाराम शर्माले बताउनुभयो ।

गत बैशाख १५ गते कालोपत्रे गरिसक्नुपर्ने भएपनि थप गरिएको ६ महिनामा समेत काम पूरा नभएको हो । ३३ करोडमा उक्त खण्डको १६ किलोमिटर कालोपत्रेको जिम्मा अनक लुम्बिनी राजेन्द्र निर्माण सेवाले पाएको थियो । उक्त खण्डमा ठुला पहिरा आएका छन् ।

सडक कालोपत्रे गरेको १ बर्षसम्म सडकको मर्मत तथा पहिरो हटाउने सम्पूर्ण कार्य निर्माण कम्पनीको हुने र यसबारे सम्बन्धित निकायलाई जानकारी गराई पहिरो हटाउने, गिट्टी सफा गर्ने, नाली सफा तथा झाडी हटाउने लगायतका कार्य अब छिट्टै थालिने ईन्जिनियर शर्माले केही दिन अगाडी बताएपनि निर्माण कम्पनि तथा ठेकेदार भने अझै फर्केेका छैनन् ।

सरकारले राष्ट्रिय गौरबको आयोजना घोषणा गरी निर्माण कार्य अघि बढाएको यो आयोजना अन्तर्गत अछाम खण्ड कालोपत्रे गर्न मूल्य अभिबृद्धि करसहित एक अर्ब १७ करोड बजेट रहेको थियो ।

बिनायकदेखि ठाँटीखाँद र ठाँटीखाँददेखि मंगलसैनसम्मको सडकको कालोपत्रेको लागि ३३/३३ करोड, बेलखेतदेखि बिनायकसम्मको सडकको लागि २९ करोड तथा कैलाशखोला देखि बयालपाटासम्मको सडकको लागि २२ करोड रुपैंया रहेको थियो । अछाम खण्डमा पर्ने ५९ किलोमिटर सडकलाई ४ खण्डमा विभाजन गरेर कालोपत्रे गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button