तपाईँ सुन्दै हुनुहुन्छः

ऊर्जा तथा सडक निर्माणका लागि ५० करोड अमेरिकी डलर उपलब्ध

नेपालको भौतिक पूर्वाधार विकासका लागि अमेरिका सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मार्फत अनुदान सहयोग उपलब्ध गराएकोले सङ्घीय संसद्बाट अनुमोदन आवश्यक भएको एमसिए नेपालले स्पष्ट पारेको छ

एमसिसीले नेपालको ऊर्जा तथा सडक निर्माणका लागि ५० करोड अमेरिकी डलर उपलब्ध गराएको छ ।

सो कार्यक्रमका लागि नेपाल सरकारल १३ करोड अमेरिकी डलर बजेट उपलब्ध गराएको छ । आयोजनाको प्रमुख कार्यका रूपमा काठमाडौँको नाङ्गलेभारेदेखि बुटवलसम्म ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने योजना रहेको छ ।

यस्तै आयोजना अन्र्तगत कूल १०० किलोमिटर लामो सडक पूर्वाधार विकासमा समेत सहयोग उपलब्ध हुनेछ । आइतवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा काम गर्न सहज होस् भनेर नै सङ्घीय संसद्बाट अनुमोदन गर्नुपर्ने प्रावधान रहेको तर त्यसमा कुनै पनि अदृश्य विषय नरहेको एमसिए नेपालका कार्यकारी निर्देशक डा खड्गबहादुर विष्टले बताउनु भयो ।

अर्थ मन्त्रालयको विकास समिति अन्तर्गत एमसिए नेपाल रहेको छ । नेपाल र अमेरिकाबीच पूर्वाधारका आयोजना समयमै सम्पन्न गर्ने र त्यसलाई निर्दिष्ट गर्न अर्थ सचिवको अध्यक्षतामा सञ्चालक समिति समेत गठन गरिएको छ । पत्रकार सम्मेलनमा कार्यकारी निर्देशकविष्टले भौतिक पूर्वाधारका क्षेत्रबाहेक अन्य विषय यसमा नसमेटिएकाले कानूनी प्रावधान पूरा गर्न संसद्को जारी हिउँदे अधिवेशनबाट अनुमोदन हुने अपेक्षा गरिएको बताउनु भयो ।

एमसिए नेपालले आगामी असार १७ गतेदेखि कार्यान्वयनमा लाने तयारी गरेको छ । गत असोज २६ र २७ गते भारतको बैङ्गलोरमा सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सहमति जुटाइसकेको छ ।

यस्तै नेपाल सरकार र एमसिसीबीच कार्यक्रम कार्यान्वयन सम्झौतासमेत भइसकेको छ ।

आयोजनामा हुने खर्चको लेखापरीक्षण महालेखापरीक्षकले नै गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button