तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय नम्बरका गाडीलाई पार्किङ निषेध

झापा । पूर्वी नाका काँकडभिट्टामा आजदेखि भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध गरिएको छ । अव्यवस्थित भारतीय गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको र फोहरमैला बढेका कारण पार्किङ निषेध गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले बताउनुभयो ।

मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र राजश्व गस्ती टोलीको संयुक्त पहलमा आज मात्र पार्किङ गरेर राखिएका ५० गाडीलाई हटाइएको छ । भन्सारको चेक प्वाइन्ट अगाडि नै भारतीय गाडी पार्किङ हुँदै आएका थिए । यसअघि सुविधा तिरेर बस्दै आएका भारतीय नम्बर प्लेटका गाडीले यात्रु झार्ने बित्तिकै नाकाबाटै फर्किनुपर्ने र अटेर गरेमा कारवाही गरिने उहाँको भनाइ छ ।

पर्यटन वर्ष नजिकिरहेको अवस्थामा नाकामा सवारी साधानको पार्किङलाई व्यवस्थित गर्न र अनाधिकृत रुपमा नेपाल भित्रिने भारतीय गाडीलाई रोक्न उक्त अभियानको शुरुवात गरिको मेची भन्सार कार्यालयका प्रमुख धुव्र विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार ती सवारी साधानले भन्सारमा राजश्व तिरेर वा सुविधा लिएर दिनभर नेपाली भूभागतिर घुमे पनि साँझ भारत नै फर्कनुपर्नेछ ।
–रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button