तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री नेम्वाङद्वारा सडक अनुगमन : उपत्यकाको सडकको खाल्डाखुल्डी पुर्ने काम तीव्र

काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाको सडकको खाल्डाखुल्डी पुर्ने काम तीव्ररुपमा अघि बढाएसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज नयाँ बानेश्वरदेखि तीनकुनेसम्मको सडक अनुगमन गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियासँगै उहाँले आफैँले आफ्नो निजी सवारीसाधन चलाएर अनुगमन गर्नुभएको हो ।

मन्त्री नेम्वाङले केही समय पहिलेदेखि यातायात व्यवस्था विभागले सञ्चालन गरिरहेको ‘मास प्रिन्टर’ को समेत निरीक्षण गर्नुभएको छ । उहाँले मास प्रिन्टरको क्षमताका बारेमा त्यहाँ कार्यरत कम्युटर अपरेटर उपेन्द्रप्रसाद चौधरीसँग जानकारीसमेत लिनुभएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री नेम्वाङले विभागमा छाप्न बाँकी रहेका झण्डै आठ लाख चालक अनुमतिपत्र चालू आर्थिक वर्षभित्रै छपाई गरिसक्ने बताउनुभएको छ ।

बानेश्वरदेखि तीनकुनेसम्म विभिन्न स्थानमा डिभिजन सडक कार्यालयले खाल्डाखुल्डी पुर्ने काम गरिरहेका स्थानमा उहाँले अनुगमन गर्नुभयो । आवधिक मर्मतअन्तर्गत सो सडकमा ‘ओभरल्यापिङ’ को काम भइरहेको छ । मन्त्री नेम्वाङले निर्माणस्थलमा पुगेर कामको गुणस्तर हेर्दै चाँडो सम्पन्न गर्न निर्देशन दिनुभयो । केही समयदेखि सडक विभागले काठमाडौँ उपत्यकालगायत देशभरका सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button