तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमका सबै स्थानीय तहमा यसै आर्थिक बर्षमा बैंक पुर्याईनेः मन्त्री बोहरा

अछाम । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा यसै आर्थिक बर्षमा बैंकिङ सेवा पुर्याईने बताउनु भएको छ ।

अछाम बहुमुखी क्याम्पस मंगलसैनको २८ औँ बार्षिकोत्सव तथा साधारणसभामा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री बोहराले सबै स्थानीय तहमा बैंक स्थापना गरी जनतालाई बैंकिङ सुविधा उपलब्ध गराईने बताउनु भएको हो ।

क्याम्पस संचालक समिति अध्यक्ष तथा मंगलसैन नगरपालिका प्रमुख पदम बोहराको अध्यक्षतामा भएको भेलामा मन्त्री बोहराले शिक्षाको विकासका लागि प्रदेश सरकार तत्पर रहेको बताउनु भएको छ ।

अछाम क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन, विद्यालयका छात्राबास, खेलमैदान, खानेपानी लगायतका समस्या समाधानका लागि आफुले पहले गर्ने उहाँले बताउनु भयो ।

क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्न अग्रसर हुनुपर्ने भन्दै प्राविधिक शिक्षातर्फ समेत लाग्न उहाँले सुझाव दिनुभयो । सुदूरपश्चिममा गरिबिको अवस्था जर्जर रहेको भन्दै यसका लागि कृषि क्षेत्रलाई बिशेष ध्यान दिनुपर्ने र प्रदेश सरकार त्यसतर्फ लागिरहेको उल्लेख गर्नुभयो ।

३३ दशमलब ९ प्रतिशत जनता गरिबिको रेखामुनि रहेका भन्दै ११ दशमलब ४ प्रतिशत जनतामात्रै रोजगार रहेको उहाँले बताउनु भयो । यसका लागि कृषिलाई व्यवसायिक रुपमा अघि बढाउने जरुरी रहेको उहाँको भनाई छ ।

कार्यक्रममा क्याम्पस प्रमुख छत्र बहादुर बिष्टले क्याम्पसको अवस्थाबारे जानकारी गराउनु भएको थियो । कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्यापन गराईने क्याम्पसमा ७ सय १४ जना विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button