तपाईँ सुन्दै हुनुहुन्छः

खरको छानो विस्थापित हुँदै

जाजरकोट-“आर्थिक अवस्था कमजोर भएकाले चाहेर पनि घर जस्तापाताले छाउन सकिएको थिएन”, जाजरकोटको बारेकोट गाउँपालिका–६ ताँसीगाउँका गोरखबहादुर नेपालीले भन्नुभयो, “अहिलेसम्म खरको छानामुनि बस्दै आएका थियौँ । अब खर विस्थापित गरेर जस्तापाताले घर छाउन गाउँपालिकामार्फत सङ्घीय सरकारले सहयोग गर्ने खबरले खुशी छु  ।” खरको छाना भएको घर गर्मीमा शीतल र जाडोमा न्यानो हुने भए पनि सर्प र आगलागीको खतरा बढी हुने भन्दै उहाँले सजिलै खर पनि नपाउँदा समस्या झेल्दै आएको बताउनुभयो ।

घर जस्तापाताले छाउन पाएर खुशी हुने उहाँ एक्लै हुनुहुन्न । बारेकोट गाउँपालिका–६ स्थित तीन गाउँमा रहेका ८० दलित परिवारमा यतिबेला उत्साह छाएको छ । गाउँपालिकाले ताँसी, धुमा र घर्तीगाउँका दलित समुदायका घरहरुमा खरको छाना विस्थापित गरिने अभियान थालेपछि स्थानीयवासीले राहत महसुस गरेका हुन् । ताँसी, धुमा र घर्तीगाउँका करिब ८० घरधुरी दलित समुदायका घरमा खरको छाना विस्थापित गर्न लागिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । आफूसँग बजेट नभएपछि सङ्घीय सरकारलाई बारेकोट गाउँपालिकाले खरको छाना विस्थापित गर्न आग्रह गरेको थियो ।

शाहका अनुसार अब बोलपत्र आह्वान गरेर छिट्टै खर विस्थापित अभियान शुरु हुनेछ । सुरक्षित नागरिक आवास कार्यक्रममार्फत सङ्घीय सरकारले यो गाउँपालिकाका लागि ८० घर छनोट गरेर रकम उपलब्ध गराएको हो  । खरको छानोमुक्त गर्नका लागि प्रतिघर ५० हजार रुपैयाँका दरले लाभग्राहीले अनुदान पाउनेछन् । यस कार्यक्रमले दलित, असहाय, विपन्न समुदायलाई प्राथमिकता दिएको छ ।

सरकारी अनुदानबाट जस्ताले घर छाउने रहर पूरा हुने भएकोमा स्थानीयवासी दङ्ग छन् । छिमेकी जस्तापाता छाएको घरमा बसेको देख्दा रहर लागेको तर हैसियत नभएर त्यत्तिकै बस्नुपरेको भएको स्थानीयवासी डिल्लीबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक ३ वर्षमा खरको छाना फेर्नुपर्दथ्यो । पछिल्लो समय पर्याप्त खर पनि पाइँदैन । एउटा घरको छाना छाउन डेढ सय भारी खर चाहिन्छ । प्रतिभारी डेढ सय रुपैयाँ पर्छ ।

खर भए पनि घर छाउन सिपालु पाउन मुस्किल हुन्थ्यो ।” यहाँ दलित समुदायलाई मात्र उपलब्ध गराउने भनिएको रहेछ, सबैलाई भएको भए राम्रो हुने अर्का स्थानीयवासी नरबहादुर चलाउनेले बताउनुभयो । यी तीन गाउँमा सबैभन्दा बढी हावा चल्ने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button