तपाईँ सुन्दै हुनुहुन्छः

एक सय भन्दा बढी पाइल्स रोगीको शल्यक्रिया

तस्विरः पाइल्सको अप्रेशन गरेर बसेका सुमन थापा

दोलखा । दोलखा मेलुङ गाँउपालिकाका सुमन थापा भर्खर ३० बर्षका भए । मेहेनत गरेर गुजारा गरिरहेका सुमनलाई झण्डै पाँच महिनादेखि पाइल्स रोगले सताएपछि उनको दैनिकीनै लथालिङ्ग बनेको थियो ।

मंसिर २९ गते चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पतालमा पाइल्सको शल्यक्रिया गरेपछि अहिले उनी आफुलाई निक्कै फुर्तिलो महशुस गरिरहेका छन् । विहिवार (पुष ३ गते) अस्पतालबाट घर फर्कने तयारीमा रहेका सुमनले भने – ‘प्रस्तावित चरिकोट अस्पतालबाट पाइल्सको राम्रो शल्यक्रिया भयो, पाँच महिना अघिदेखिको पीडाबाट मुक्ति पाएकोले आफुलाई निक्कै फुर्तिलो महसुश गरिरहेको छु ।’

सुरु सुरुमा मलद्वारमा अप्ठेरो हुने गरेको र औषधि खाएपछि केही समय आराम मिलेको भएपनि पछिल्लो समय मलद्वारबाट मासुनै बाहिर निस्कीएर भित्र धकेल्नै पर्ने अवस्था आएकोले निक्कै पीडा भोग्नु परेको सुमनले बताउनु भयो । ‘प्रस्तावित चरिकोट अस्पतालले निशुल्क रुपमा खान समेत दिएर निक्कै राम्रोसंग पाइल्सको शल्यक्रिया गरेकोले खुशी भएको छु’ – सुमनले भन्नु भयो ।

न्याय हेल्थ नेपालको सहयोगमा सञ्चालित प्रस्तावित चरिकोट अस्पतालमा अहिलेसम्म एक सय जना भन्दा बढीको पाइल्सको शल्यक्रिया गरिसकिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिनोद दंगालले बताउनु भयो । पाइल्सको बैज्ञानिक नाम हेम्मोरोईड्स हो । कब्जियत, मासु धेर खादा, अत्यधिक मध्यपान आदिका कारण पाइल्स हुने अस्पतालका स्वास्थ्य सेवा निर्देशक दंगाल बताउनु हुन्छ । यो रोग गर्भवती महिलामा समेत देखिने डाक्टर दंगालको भनाई छ ।

पाइल्सको चार स्टेज हुने र चौथो स्टेजमा पुगेपछि यो रोग निक्कै पीडादायी र जोखिमपूर्ण हुने डाक्टर दंगाल बताउनु हुन्छ । पाइल्सको पहिलो डिग्रीमा कब्जियत हुने, मलद्वारबाट सामान्य रक्तश्राव हुने र पाइल्स सानो देखिने, दोस्रो डिग्रीमा रक्तश्रावसंगै पाइल्स बाहिर निस्कने र दिशा गर्दा सजिलै भित्र जाने, तेस्रो डिग्रीमा रक्तश्राव अत्यधिक हुने, पाइल्स ठेलेपछिमात्र भित्र जाने र पीडा बढी हुने तथा चौथो डिग्रीमा पाइल्स ठेल्दा पनि भित्र नजाने र पीडा पनि अत्यधिक हुने स्वास्थ्यकर्मीहरु बताउछन् ।

अस्पतालमा उपचारको लागि आएका सुमन थापाको पाइल्स चौथो डिग्रीमा पुगेको र तत्कालै शल्यक्रिया नभएको भए अन्य रोगको समेत जोखिम रहेको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर दंगाल बताउनु हुन्छ । पाइल्स तेस्रो र चौथो डिग्रीमा पुगेपछि शल्यक्रियाको विकल्प नरहने डाक्टर दंगाल बताउनु हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button