तपाईँ सुन्दै हुनुहुन्छः

पारस्परिक जवाफदेहितासम्बन्धी पत्रकारिता तालीम शुरु

भक्तपुर-पारस्परिक जवाफदेहिता कार्यक्रमअन्तर्गत इक्वेल एक्सेस नेपालले आयोजना गरेको दुई दिने पुनर्ताजगी पत्रकारिता तालीम बुधबारदेखि यहाँ शुरु भएको छ । इक्वेल एक्सेस नेपालले विगत वर्षहरूमा आयोजना गरेको खोजमूलक पत्रकारिता तालीम र पैरवी अनुगमन तथा निगरानी तालीमपछि देशभर क्रियाशील रहेका ३४ जिल्लाका पत्रकार तालीममा सहभागी छन् ।

तालीमपछि उठान गरिएका विषय तथा प्रकाशन भएका समाचारले स्थानीय विकास खासगरी शिक्षा, स्वास्थ्य, कृषि, विपद् तथा लैङ्गिक समता र समावेशीकरणका लागि वकालत गर्न मद्दत पुगेको इक्वेल एक्सेस नेपालका वरिष्ठ सञ्चार अधिकृत कमला पोखरेलले जानकारी दिनुभयो ।

यसपटक विगत वर्षहरूमा उपलब्ध गराएको तालीमको उपलब्धता, त्यस तालीमप्रति सहभागी पत्रकारको धारणा र सिकाइको समीक्षा तथा भावी योजनाका बारेमा छलफल गर्ने उद्देश्य रहेको उहाँले सुनाउनुभयो । भेलामा स्थानीय तहको विकास र जनचासोको सवालमा खोज पत्रकारिता र पैरवी पत्रकारिताको महत्व एवं पत्रकारको भूमिकाका विषयमा बुधबार एफएचआई ३६० का विज्ञ सल्लाहकार भोला भट्टराईको प्रस्तुति थियो ।

प्रस्तुतिका क्रममा उहाँले सार्वजनिक सरोकारका विषयमा नीतिगत तवरले समाचारका विषय उठाउनुपर्नेमा जोड दिनुभयो । आज पत्रकार हरिबहादुर थापा र किरण नेपालले स्थानीय तहको विकास र जनचासोको सवालमा खोज पत्रकारिता र पैरवी पत्रकारिताको महत्व तथा पत्रकारको भूमिकाका विषयमा अनुभवसहितको प्रस्तुति गर्नुहुने जनाइएको छ ।

इक्वेल एक्सेसले भूकम्प अतिप्रभावित १४ जिल्लामा महत्वका साथ साझा सवाल लगायत पारस्परिक जवाफदेहिताका विषय उठानमा काम गरिरहेको सो अवसरमा जानकारी दिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button