तपाईँ सुन्दै हुनुहुन्छः

व्यास नगरपालिकाले गर्यो ८४ वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान

तनहुँ । तनहुँको व्यास नगरपालिकाले ८४ वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।अन्तराष्ट्रिय आप्रवासी दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । व्यास नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम बुधबार भएको हो ।

नगरपालिकाले १९९२ मंसिर २४ गते र सो भन्दा अगाडी जन्म भएका जेष्ठ नागरिकलाई सम्मान गरेको जनाइएको छ । नगरपालिकाले दोसल्ला, प्रमाणपत्र र नगद एक हजारले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

व्यास नगरपालिकाले आफ्नो सभाहलमा व्यास २ का २७ जना, व्यास ३ का १५ जना र व्यास ४ का २४ जनालाई एकैपटक सम्मान गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तलगाएत वडाअध्यक्षहरुले जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो ।

सो अवसरमा प्रमुख न्यौपानेले जेष्ठ नागरिकका लागि वृद्धभत्ता वडा वडाबाटै बाढ्ने व्यवस्था वडा कार्यालय र बैकसँगको सहकार्यमा गरेको बताउनुभयो । ’जेष्ठ नागरिकलाई पहिले धेरै अप्ठ्यारो थियो ।’ उहाँले भन्नुभयो ’अहिले स्थानीय तहमा हामी आइसकेपछि जेष्ठ नागरिकहरुको सम्मान र सुविधा स्वरुप सहज वातावरण मिलाएका छौ ।’ जेष्ठ नागरिकको लागि पार्क निर्माणको लागि काम भईरहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै गतवर्ष नगरपालिकाले ७५ वर्ष पुगेका करिब २३ सय जेष्ठ नागरिकलाई सम्मान गरेको प्रमुख न्यौपानेले बताउनुभयो ।

त्यस्तै व्यास १ मा १०, व्यास ५ मा १४, व्यास ६ मा ८, व्यास ७ मा १०, व्यास ८ मा ३८, व्यास ९ मा २०, व्यास १० मा २४, व्यास ११ मा २५, व्यास १२ मा १५, व्यास १३ मा २४ र व्यास १४ मा २६ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको कार्यक्रम संयोजक राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।

आफ्नै नगरपालिकाले सम्मान गर्दा खुसि लागेको कार्यक्रममा उपस्थित सम्मानित जेष्ठ नागरिकले बताउनुभएको थियो ।

घरमै सम्मान गर्न पुगे वडाअध्यक्ष श्रेष्ठ
व्यास ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठले अलिक फरक तरिकाबाट सम्मान गर्नुभएको छ । उहाँले जेष्ठ नागरिकको घर/घरमा नै गएर सम्मान गरेका छन् । ’८४ वर्ष पुगेका बा/आमा भनेको हिडडुल गर्न नसक्ने अवस्थाको हो ।’ वडाअध्यक्ष श्रेष्ठले भन्नुभयो ’बुढाबुढी मुन्छेलाई किन बेक्कारमा वडा सम्म आउन दुख दिने भनेर घर घर गएर सम्मान गर्यौ ।’ केही जेष्ठ नागरिक वडामै आएको हुदाँ वडामा नै सम्मान गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

बुधबार १४ जना लाई सम्मान गरियो । वडाअध्यक्ष श्रेष्ठले भन्नुभयो । अब बाँकी लाई भोली पनि घरमै गएर सम्मान गर्ने उहाँले जानकारी दिनुभयो ।

भौगोलिक बिकटका कारण जेष्ठ नागरिक वडा कार्यालय सम्म आउन नसको अन्य वडाले पनि एक हप्ता भित्र घर घरमै सम्मान गर्ने योजना बनाएको अन्य वडाका वडाअध्यक्षहरुले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button