२०७९ साल भदौ २ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

कृषकहरुम हिउँले ल्याएको खुशी !

रेडियो नेपाल २०७६ मंसिर ३० गते १३:२०

 

जाजरकोट । बर्सेनि हिउँदेबाली लगाएर परिवार पाल्दै आएका मुड्केचुला गाउँपालिका–६ का सन्तोष सिंह यो वर्ष भने भारी खुशी हुनुहभएको छ । उहाँले लगाएको गहुँ, जौ र अन्य तरकारीबाली सिँचाइको अभावमा सुक्न थालेको थियो । आकाशे पानीका भरमा लगाइएको हिउँदेबाली सुक्न थालेपछि दुःखी भएका सिंहको हिमपाले एकै पटक खुशी थपिदियो ।

उहाँले भन्नुभयो, “अघिल्ला वर्षभन्दा यो वर्ष समयमै हिमपात हुँदा खेतबारीमा लगाएको अन्नबाली सोचेकै जस्तै गरी उत्पादन हुने पक्का भएको छ ।” खेती लगाएर सिँचाइ सुविधा नभएपछि निरास भएका नर्कुका हरिबहादुर सिंहलाई पनि खुशीको सीमा छैन । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष बीउसम्म उठेको थिएन, यो वर्ष समयमै हिमपात भएपछि साचेको आम्दानी हुने भयो, अब घरपरिवारका लागि बाहिरबाट खाद्यान्न ल्याउनु नपर्ने पक्का भएको छ ।” बर्र्सेनि सर्मीस्थित खाद्य डिपोबाट खाद्यान्न ल्याएर दैनिक छ जनाको परिवार पाल्दै आएका सिंह हिमपातले उत्पादन वृद्धि हुने भएपछि खुशी हुनुभएको हो ।

त्यस्तै बारेकोट गाउँपालिका–५ पाखामा लगाइएको गहुँबाली सप्रिने भएपछि यहाँका कृषक खुशी भएका छन् । सिँचाइको अभावमा बर्सेनि समस्या भोग्दै बारेकोटवासी हिमपातसँगै सिँचाइको माग पूर्ति भएपछि हौसिएका छन् । पाखावासीले सिँचाइका लागि सबै तहका जनप्रतिनिधिलाई ध्यान आकर्षण गराए पनि माग पूरा नभएको भन्दै पाखावासी पीडा पोख्दै आएका छन् ।

जिल्लाका अधिकांश ठाउँमा सिँचाइको अभावमा कतै जमीन बाँझै रहेका छन् भने कतै लगाइएको बाली सुक्न लाग्दा हिमपात हुँदा कृषकमा खुशी थपिएको हो । नलगाड नगरपालिका–८ मेघाचौरमा हिउँदेबालीका रुपमा लगाइएको गहुँबाली समयमै हिमपात हुँदा रुप फेरिएको छ । उच्च पहाडमा भारी हिमपात भएपछि कृषकको अन्नबालीमा सिञ्चित हुँदा हराभरा भएको स्थानीयवासी मनिलाल खत्रीले बताउनुभयो ।

बर्सेनि सिँचाइको सुविधा नभएका कारण आकाशेपानीका भरमा हिउँदेबाली लगाइने गरिन्छ । दुई वर्षअघि हिउँदेबाली लगाएको लामो समयसम्म पानी नपर्दा मष्ट देवतालाई बोका नै भाकल गर्नुपरेको सुनाउँदै नलगाड नगरपालिका–११ का अशोक सिंह भन्नुहुन्छ, “गाउँको तल भेरी नदी छ, तर माथि खेतबारी बाँझै छन् कस्तो पीडा होला हाम्रो ? तर यो पटक हाम्रो गाउँमै हिमपात भयो, अब उत्पादन बढ्ने भएको छ ।”

कर्णालीको सिँचाइयोग्य जमीन

विसं २०६८ को जनगणनामा यहाँको जनसङ्ख्या १५ लाख ७० हजार ४१८ रहेकामा २०७५ मा करिब १७ लाख ७९ हजार ७८० पुगेको अनुमान गरिएको छ । जम्मा क्षेत्रफल २५ लाख २५ हजार २७५ हेक्टर, कूल खेतीयोग्य जमीन दुई लाख ९९ हजार ३३९ हेक्टर, कूल खेती गरिएको जमीन दुई लाख १६ हजार ८८० हेक्टर, बाह्रै महिना सिञ्चित क्षेत्रफल ३८ हजार ३३ हेक्टर र आंशिक सिञ्चित क्षेत्रफल ३० हजार ३०२ हेक्टर रहेको तथ्याङ्क छ ।

प्रदेशमा करिब ४२ हजार ८१७ व्यावसायिक एकाइमा जम्मा एक लाख ३२ हजार ४२५ ले मात्र रोजगारी प्राप्त गरेको देखाइएको छ । त्यसैगरी गभर्नेन्स फ्यासिलिटीले सन् २०१८ मा प्रकाशन गरेको पुस्तक ‘सङ्घीय नेपाल ः प्रदेशहरू’मा कर्णालीमा ३९ उद्योगले हजार र ४०९ जनालाई मात्र रोजगार दिन सकेको देखाएको छ ।

हावापानीको अवस्था

भौगोलिक अवस्था जस्तै जलवायुको दृष्टिले पनि कर्णाली प्रदेश जत्तिको जटिल छ उत्तिकै मनमोहक पनि छ । यहाँको जलवायु शीत र समशीतोष्ण रहेको छ । यस प्रदेशमा तराई नजोडिएको कारणले उष्ण जलवायु पाइँदैन । उत्तरी हिमाली भेगमा बाह्रै महिना चिसो र दक्षिणी पहाडी, उपत्यका तथा दूनहरूमा समशीतोष्ण जलवायु पाइन्छ । उत्तर–दक्षिण जोड्ने सडक यातायात र रोप–वेहरूको समुचित विकास भयो भने केही घण्टाभित्रै चिसोबाट गर्मी ठाउँमा र गर्मीबाट चिसो ठाउँमा पुग्न सकिने भएकाले यो प्रदेश तराईको प्रचण्ड तातो जलवायुमा रहने र अत्यन्त चिसो हिमाली भेगमा बस्नेका लागि पनि उपयुक्त मानिन्छ । रासस

सम्बन्धित