तपाईँ सुन्दै हुनुहुन्छः

दोलखाको पानी पोखरीमा एकीकृत बस्ति निर्माण सुरु

दोलखा । दोलखा भमिेश्वर नगरपालिका वडा नम्बर १ पानीपोखरीमा एकिकृत बस्ती निर्माण सुरु भएको छ । शनिबार प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले एकिकृत बस्तीमा निर्माण हुने घरको सिलान्यास गर्नु भएको छ ।

सो अवसरमा मन्तव्य व्यक्त गर्नु हुदैँ प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री ढुङ्गेलले समाजवादको पहिलो आवश्यकता सुरक्षित आवास भएकोले भुकम्पपछि टहरामा रहेका थामी समुदायलगायत सबै दोलखालीलाई सुरक्षित घरमा राख्ने प्रदेश सरकारको प्राथामिकता रहेको बताउनुभयो ।

प्रदेश मन्त्री ढुङ्गलले दोलखा प्रदेश तीनको तेस्रो पर्यटकीय गन्तव्य रहेको उल्लेख गर्नुहुदैँ दोलखामा कृषि, जलश्रोत र पर्यटन विकासको लागि प्रदेश सरकारले महत्वपूर्ण योजान बनाई रहेको र स्थानीय सरकारमार्फत आवश्यक सहयोगसमेत गरिरहेको बताउनुभयो ।

जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डेले एकिकृत बस्ती निर्माणको लागि जिल्ला समन्वय समिती दोलखाले प्रदेश र स्थानिय सरकार बीच समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले वोसिम्पाका भुकम्प पीडित थामी समुदायको लागि निर्माण हुन लागेको पानी पोखरी एकिकृत बस्तिमा छाना र अगाडिको भाग एकै प्रकारको बनाउन प्रदेश सरकारसंग समन्वय गरी भीमेश्वर नगरपालिकाले समेत थप सहयोग उपलब्ध गराउने बताउनुभयो ।

भुकम्पपछि बोसिम्पालाई उच्च जोखिमको क्षेत्र भनिएकोले त्यहाँका ८४ घर धुरीका भुकम्प पीडित नजिकै पानीपोखरीमा टहरामा बस्दै आएका थिए । एकिकृत बस्ती निर्माण ढिला भएपछि बोसिम्पाका ८४ घर धुरी भुकम्प पीडित मध्ये अन्यत्र जग्गा हुने केहीले घर बनाएर बसेका छन् । ५७ घर धुरीको परिवार भने अहिले पनि वडा नम्बर १ कै पानीपोखरीमा टहरामै बसिरहेका छन् ।

सरकारले पुर्ननिर्माण प्राधिकरणमार्फत ५७ घर धुरीलाई पानीपोखरीमा एकिकृत बस्ती निर्माण गरी स्थानान्तरण गरिदिने निर्णय गरेको र पुर्ननिर्माण प्राधिकरणको निर्देशनअनुसार जग्गा दर्ता समितिले बस्ती निर्माणको प्रकृया टुंग्याएपछि शनिबार घर निर्माणको काम सरु भएको हो ।

सरकारले करिव तीन करोड ५० लाखको लागतमा पानीपोखरीमा एकिकृत बस्तीको लागि जग्गाको प्लटिङ, सडक, नाला निर्माण गरेको छ । अहिले संरचना निर्माणका बाँकी कामको लागि समेत रकम थप भएको भीमेश्वर नगरपालिकाले जनाएको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष वीरबहादुर थामीको सभापतित्वमा सम्पन्न सिलान्यास कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्का, भवनका इन्जिनियर भिषण राई, नेकपा वडा नम्बर १ का वडा अध्यक्ष उद्धव कार्की, नेपाली कांग्रेसका वडा सभापति भक्तसिंह थामी र राप्रपाका ठाकुर शिवाकोटीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button