तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा १९ सिँचाई आयोजना निर्माण हुँदै


पर्वत । पर्वतमा चालु वर्ष १९ वटा सिँचाई आयोजना सम्पन्न हुने भएका छन् । खेतीपातीको संभवना रहेको जमिन बाँझो छोड्नुपर्ने बाध्यता हटाउन जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयले सिँचाई आयोजना थप्न लागेको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत ५ सय हेक्टरभन्दा धेरै जमिन सिँचाइ हुनेगरी आयोजना निर्माण हुन लागेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख थलबहादुर तामाङले सिँचाई आयोजना निर्माणका लागि चालु वर्ष ९ करोड ५४ लाख रुपैयाँ बजेट रहेको जानकारी दिनुभयो । तामाङका अनुसार फलेबास नगरपालिकामा ७ , कुश्मा नगरपालिकामा ४ , पैयूँ गाउँपालिकामा ३ , जलजलामा ३ , मोदीमा २ र बिहादीमा २ वटा ठूला सिँचाइ आयोजना निर्माण हुन लागेका हन् । सबै आयोजना सम्पन्न भएपछि पाँच सय १२ हेक्टर खेतीयोग्य जमिनमा सिँचाईको सुविधा बिस्तार हुने जनाईएको छ ।

तत्कालीन सिँचाइ विकास सब डिभिजन कार्यालयबाट अघिल्ला वर्षमा स्वीकृत तथा विस्तृत परियोजना विवरण पेस गरेका तथा पुराना आयोजना मर्मतका लागि दुई करोड ११ लाख ५० हजार बजेट रहेको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर जगन्नाथ खनालले बताउनुभयो । उहाँका अनुसार मझौला सिँचाइमा समेटिएका २५ वटा आयोजना मर्मतको चरणमा छन् । नयाँ निर्माण तथा पुराना सिँचाइ मर्मतसमेत गरी चालु वर्ष करिब १५ सय हेक्टर जमिन समेट्ने गरी सिँचाइको काम अघि बढाइएको खनालले बताउनुभयो ।

बाह्रै महिना पानीको स्रोत भएर पनि सिँचाइ अभावकै कारण फलेवास ३ शंकरपोखरी, कुश्मा–११ पकुवा, मोदी–६ गिज्यान, महाशिलाका प्राय वस्ती, विहादी ३ रानीपानीमा किसानले वर्खामा भेल छोपेर धान खेती गरेपनि अन्य खेती गर्न पाउँदैनन् । जिल्लाको कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत हालै धान जोन बिस्तार भएको छ । धान जोन बिस्तार भएका ठाउँमा सिँचाईको सुविधा पुग्दैछ । समथर र फराकिलो भूभागमा सिँचाईको सुविधा नहुँदा फलेवास, ज्ञादी, हुवास, मल्लाज लगायतका स्थानमा किसान एक खेती मात्रै गरेर अरु बेला जमिन बाँझो राख्दै आएका छन् ।

जिल्लामा २८ हजार ५ सय ९३ हेक्टर खेतीयोग्य जमिन भएकोमा परम्परागत सिँचाइ आयोजनाबाट सिंचित हुने जमिनको क्षेत्रफल नौ हजार नौ सय ४० हेक्टर छ । बाह्रै महिना सिंचित हुने जमिनको क्षेत्रफल करिब साढे सात हजार भएको कार्यालयमा तथ्याङ्क छ । कार्यालयमार्फत सञ्चालित आयोजनाको काम सम्पन्न भएपछि बाह्रै महिना सिँचाइ हुने जमिनको क्षेत्रफल १५ सय हेक्टर बढ्ने अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button