तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातले सञ्चार सम्पर्क अवरुद्ध

डोटी । शुक्रबारदेखि परेको भारी हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको छ । हगुल्टे लेकमा रहेको यहाँका पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लामा सञ्चार सम्पर्क जोड्नका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावरमा हिमपातका कारण खराबी आएकाले गएरातिदेखि यहाँका जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको हो ।

त्यस्तै यहाँका पहाडी जिल्लामा गएरातिदेखि टेलिफोन सेवा, टेलिकमद्वारा वितरित एडिएसएललगायतका इन्टरनेट सेवा पनि पूर्णरूपमा अबरुद्ध भएको छ ।

ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भए पनि मोबाइल सेवा तथा हटस्पट इन्टरनेट सेवा भने आंशिकरूपमा सञ्चालनमा रहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताउनुभयो ।

हिमपातका कारण सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग शुक्रबार दिउँसो ३ बजेदेखि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग सञ्चालन नहुँदा यात्रुलाई निकै सास्ती भएको छ । बन्द भएको राजमार्ग खुलाउन डोटीको बुडरबाट डोजर पठाइए पनि लगातारको हिमपातका कारण खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button