तपाईँ सुन्दै हुनुहुन्छः

चाबहिल–साँखु सडक निर्माण चालू आवभित्रै सम्पन्न गरिने

काठमाडौँ । सरकारले विस्तारका लागि चार वर्ष पहिले ठेक्का सम्झौता गरे पनि अझै सम्पन्न नभएको चाबहिल–साँखु सडक निर्माण चालू आव २०७६/७७ भित्रै सम्पन्न गर्ने लक्ष्य लिएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै सडकको अवस्थाबारे स्थलगत निरीक्षणमा जानुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सडक चाँडो सम्पन्न गर्न आफू तत्पर रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नेपालले आफूले पटक–पटक सडकस्थलगत निरीक्षण गर्दै आवश्यक सुझाव दिँदै आएको बताउनुभयो । सडक निर्माणका क्रममा रहेको अवरोध हटाउन आफ्नो तहबाट सहयोग पु¥याउँदै आएको उहाँको भनाइ थियो । सडकमा दुई स्थानमा जोखिममा रहेको पहिरो रोक्न प्रविधिको प्रयोग आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

जनप्रतिनिधिले पनि आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीसँग समन्वय गर्ने र विवाद समाधान गर्ने काम नगरपालिकाका प्रमुख÷उपप्रमुखले गर्नुहोस्, यहाँबाट नहुँदा हामी यहाँका सांसद पनि लाग्छौँ ।”

मन्त्री नेम्वाङले मन्त्रालयले सबै रुग्ण योजना चाँडोभन्दा चाँडो सम्पन्न गर्न चाहेको बताउनुभयो । सबै तहका कर्मचारी त्यहाँका समस्या हटाएर अघि बढ्न तत्पर रहेको उहाँको भनाइ थियो । चार वर्ष पहिले ठेक्का भएर पनि अझै सडक सम्पन्न नहुनुको कारण बुझ्न र सबैसँग छलफलकै लागि आफू यहाँ आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “समस्या हटाएर चाँडो निर्माण सम्पन्न गर्न लाग्नुपर्छ ।”

प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले सडक निर्माण चाँडो सम्पन्न गर्न सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले निर्माणाधीन सडकमा रहेका पाइप र बिजुलीका खम्बा हटाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेशसभा सदस्य मणिराम फुयाँलले सडक निर्माणमा गत वर्षभन्दा प्रगति देखिएको बताउनुभयो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले प्राधिकरणले कुनै पनि ठाउँमा सडक नाप्दा प्रहरीको साथमा गएर मात्रै काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घर नभएका खाली स्थानमा समेत काम अवरुद्ध देखिएकाले कामलाई गति दिन ठेकेदारले जनशक्ति र उपकरण बढाउनुपर्ने बताउनुभयो ।

निरीक्षण टोलीमा प्रदेशसभा सदस्यद्वय फुयाँल, मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त तिवारीलगायत कर्मचारी, जनप्रतिनिधि, स्थानीयवासी सहभागी हुनुहुन्थ्यो । टोलीले चाबहिल–साँखु र जोरपाटी–सुन्दरीजलको स्थलगत अवलोकनसँगै स्थानीयवासीको रायसमेत लिएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button