तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीका सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो लाग्न सकेको छैन ।

स्थानीय कामदारको ज्यालाको टुङ्गो लागेपनि सहायक ठेकेदारका विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सिएमसिले भुक्तानी गर्न बाँकी रहेको रकमसम्बन्धी माग दाबी भएका आधारमा अध्ययन गर्न प्राविधिक समिति गठन गरिएको छ । मजदूरलाई ज्याला बापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो ।

भुक्तानी गर्न बाँकी रहेका भनिएका कम्पनीको माग सही छ छैन भनी भेरिफाइ (जाँच गर्ने) काम भइरहेको छ । उहाँले भन्नुभयो, “त्यो सकिना साथ भुक्तानी प्रक्रिया अघि बढ्नेछ ।” सिएमसी कम्पनी निर्माण कार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्तालाई भुक्तानी गरेको थिएन । कम्पनी गएदेखि नै उनीहरुले आफू पीडित भएको भनी सरकारसँग भुक्तानीको माग गरेको प्रवक्ता शाक्यले बताउनुभयो ।

कम्पनी निर्माण कार्य छाडेर गएसँगै सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग १५ महिनामा काम सक्ने गरी सम्झौता गरेको थियो । नयाँ कम्पनी निर्माण कार्यमा लागिरहँदा सरकारले यस अघिको समस्यासमेत समाधान गरिरहेको छ । मन्त्रालयमा सहसचिव नेतृत्वको प्राविधिक समिति गठन गरेर विवाद समाधान गर्न लागिएको छ । साना र ठूला आपूर्तिकर्ताको भने भुक्तानी गर्न बाँकी छ ।

काठमाडौँका सडक कालोपत्र गरिँदै

काठमाडौँका बानेश्वर, पुरानो बानेश्वर, नक्साल भगवती, कपनलगायतका क्षेत्रमा सडक कालोपत्र शुरु गरिएको छ । चालू आर्थिक वर्षमा काठमाडौँका धेरै सडकमा कालोपत्रको योजना रहेकामा अधिकांशमा भइरहेको र कतिपयमा ठेक्का सम्झौता भइसकेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । यी सडकमध्ये कतिपयमा खाल्डाखुल्डी देखिएकाले र कतिपयमा निर्माणको लामो समय भइसकेकाले कालोपत्र गरिएको कार्यालयका इञ्जिनीयर सुदर्शन कार्कीले बताउनुभयो ।

कार्यालयले नियमित रुपमा खाल्डा देखिएका स्थानमा कालोपत्र गर्ने र सडक मर्मत गरेको लामो समयपछि खाल्डा नभएपनि कालोपत्र थप्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “माइतीघर–तीनकुने सडक कालोपत्र गरेको छ÷सात वर्ष भइसकेकाले अहिले धमाधम कालोपत्र भइरहेको छ ।” चालू आवमा सो कार्यालयले आकाशे पुलसमेत निर्माण गरिरहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button