तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा पहिलोपटक टिलापिया माछामा अनुसन्धान

बैतडी- बैतडीमा पहिलोपटक टिलापिया जातको एकलिङ्गीय माछाको उत्पादनमा अनुसन्धान गरेको छ । गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेजमा आठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीले उक्त अनुसन्धान गरेको हो । स्नातक तहमा गरिने प्रयोगात्मक अनुसन्धानअन्तर्गत महेश बुढामगर, सुशान्त चौधरी, वीरेन्द्र चौधरी, करुणा सापकोटा र लक्ष्मी भण्डारीको टोलीको टिलापिया जातको एकलिङगीय माछामा अनुसन्धान गरेका हुन् ।

सय दिन लगाएर गरिएको अनुसन्धानले टिलापिया जातको माछा उत्पादनका लागि बैतडी जिल्ला उपयुुक्त रहेको देखिएको अनुसन्धानमा सहभागी महेश बुढामगर बताउनुभयो । उक्त माछाको उत्पादनका लागि पानीको तापक्रम करिब २५ देखि ३० डिग्री सेल्सियसको उपयुक्त हुने अनुसन्धानबाट देखिएको उहाँले बताउनुभयो ।

यो जातको माछाको माग उच्च रहेको बताइएको छ । विशेषत टिलापिया माछामा काडा नहुने भएको हुँदा वृद्ध, बच्चा जसले पनि सजिलै खान सक्ने हुँदा यसको माग उच्च हुने गरेको छ । स्थानीय बजारमा यो जातको माछा प्रतिकिलो रु ५०० बिक्री भइरहेको छ । नदी, खोलानालाका माछा मारेर खाने चलन बनाएका स्थानीय किसान हाम्रो यो सानो प्रयासले गर्दा माछापालनप्रति आकर्षित भएका छन् र माछापालनबाट पनि जीवनोस्तर उकास्न सकिन्छ भन्ने कुरा सिकेका छन् ।

एकलिङ्गीय टिलपिया माछाको वृद्धिदर अरुभन्दा चाँडो हुने सङ्केत देखिएको छ । द्विलिङ्गीय हुँदा पोखरीमै प्रजनन गर्ने गर्दछन् जसले गर्दा उनीहरुको सामर्थ प्रजनन हुँदा अधिकतम मात्रामा प्रयोग हुने गर्दछ । तर एकलिङ्गीय माछाको कुनै सामर्थ अनावश्यक खेर नजाने र शरिर वृद्धिमै प्रयोग हुने गरेको अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button