तपाईँ सुन्दै हुनुहुन्छः

स्रोत नखुलेको १३ लाख नगदसहित दुई जना पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले स्रोत नखुलेको १३ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलबाट स्रोत नखुलेको १३ लाख नगदसहित घरबारी टोलकै ४६ वर्षिय बिनोद कुमार सोनी र १८ वर्षिय सौरभ सोनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँटका इन्चार्ज प्रहरी निरिक्षक दिपक मल्लले जानकारी दिनुभयो । पक्राउ परेका बिनोद र सौरभ बाबुछोरा रहेको प्रहरीले जनाएको छ ।

सीमावर्ती वजार रुपैडिहाबाट फर्किरहेका उनीहरुको शंकास्पद गतिविधिलाई नियालिरहेको क्षेत्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । प्रहरीलाई देख्ने बित्तिकै उनीहरु तीन लाख रुपैयाँ फालेर भाग्ने प्रयास गरेको प्रहरी निरिक्षक मल्लले बताउनुभयो ।

पक्राउ परेका बिनोदलाई खानतलासी गर्ने क्रममा नगद चार लाख र सौरभको साथबाट छ लाख रकम बरामद गरेको प्रहरीले सडकमा फालिएको तीनलाख नगदसमेत गरी जम्मा १३ लाख रुपैयाँ बरामद गरेको हो ।

बरामद रकम र पक्राउ परेका दुबैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक मल्लले बताउनुभयो । उनीहरु सुन व्यापारी रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button