तपाईँ सुन्दै हुनुहुन्छः

लोपोन्मुख चराको बासस्थान बन्दै मेचीनगर 


भद्रपुर ।  
झापाको मेचीनगर नगरपालिकामा लोपोन्मुख अवस्थामा पुगेका बगाले बगेडी, राज हुट्ट्यिाउँ, राजधनेशलगायत ४०० बढी चराका प्रजाति पाइने गरेको छ । चराविद् देवेन्द्र खरेलका अनुसार नेपालको चितवन राष्ट्रिय निकुञ्ज, कोशी टप्पुलगायतका संरक्षित क्षेत्रबाहेक सबैभन्दा बढी प्रजातिका चरा झापाको मेचीनगरमा रहेका छन् ।

विगत चार वर्षदेखि वाइल्ड लाइफ फोटोग्राफीमार्फत चरासम्बन्धी विशेष अनुसन्धान गरिरहनुभएका खरेलले मेचीनगरमा सिमसार क्षेत्र, सामुदायिक वन र पहाडको सीमासँग जोडिएको क्षेत्र धरै भएका कारण चराका प्रजाति बढी पाइने गरेको जानकारी दिनुभयो ।

मेचीनगर–८ जोरसिमलस्थित पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ रहेको १०० मिटर सिमसार क्षेत्रमा मात्र ४० प्रजातिका चरा रहेको र पछिल्लो समय पोखरामा मात्र पाइने लोपोन्मुख अवस्थाको पहेँलो बगाले बगेडीसमेत यही क्षेत्रमा पाइएको बताउनुभयो । उहाँले चोरी सिकारीका कारण पहेँलो जातको बगेडी नेपालमा हराइरहेको अवस्थामा यही क्षेत्रमा मात्र पाएको जिकिर गर्नुभयो ।

सो क्षेत्रलाई मेचीनगर नगरपालिकाले चरा संरक्षित क्षेत्र घोषणा गरेर अघि बढ्ने हो भने पर्यटन वर्ष २०२० मा विदेशी पर्यटकलाई पनि तान्न सकिने उहाँको भनाइ छ । दैनिकजसो बिहान ६ बजेदेखि १० बजेसम्म उहाँले नगरमा पाइने चराको तस्वीर, भिडियो र नामको सङ्कलन गर्दै आउनुभएको छ ।

धेरै चरा पाइने देशको सूचीमा नेपाल २२ औँ स्थानमा रहेको बताउँदै खरेलले नेपालमा पाइने ९०० प्रजातिका चरामध्ये झापाको एउटै नगरमा ४०० प्रजातिका चरा पाइनु सामान्य नरहेको बताउनुभयो । उहाँले मेचीनगरलाई चरा मार्न निषेधित क्षेत्र घोषणा गरेर अनुकूल बासस्थान बनाउन स्थानीय सरकारले पहल गर्ने हो भने विदेशी पर्यटक अध्ययन र अवलोकनका लागि ओइरो लाग्ने बताउनुभयो ।   रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button