तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात समुहद्धारा गाउँपालिकाको गाडीमा आगजनी

खोटाङ । खोटाङको रावाबेंशी गाउँपालिकाको गाडीमा अज्ञात समुहले आगजनी गरेको छ । गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले प्रयोग गर्दैै आएको बा २ झ ३५२४ नम्बरको महिन्द्रा स्कारपियो गाडीमा गएराती आगजनी भएको हो ।

रावाबेंशी गाउँपालिका–५ दुबेकोलमा पालिका अध्यक्ष निरौलाको घरमा पार्किङ गरेर राखिएको गाडीमा मध्यराती १२ बजेको समयमा आगजनी भएको गाउँपालिका अध्यक्ष निरौलाले बताउनुभयो ।

रातको समयमा ठूलो आवाज पड्केको सुनेपछि हेर्दा गाडीमा आगलागी भईरहेको उहाँले बताउनुभयो । गाउँपालिका प्रमुख निरौलाको गाडीमा लागेको आगो हरमटारबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

आगजनीमा परेको गाउँपालिका प्रमुखको गाडी पूर्णरुपमा ध्वस्त भएको प्रत्यक्षदर्शीले बताएका छन् ।  गत मंसिर १५ गते ४ वटा स्काभेटरमा आगजनी गरेको घटना सेलाउन नपाउदै पुनः पालिकाको गाडीमा आगजनी भएको हो ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बामदेव गौतमले राती नै घट्नास्थल पुगेर अनुसन्धान सुरु गर्नुभएको छ । १५ मंसिरमा दोर्पाको लप्सेखोला पंखुखोलामा र चखेवाभन्ज्याङमा गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको चार वटा स्काभेटर अज्ञात समुहले जलाइदिएका थिए ।

घटनाका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायका अनुसार गाउँपालिका प्रमुख निरौलाको गाडीमा विप्लव समूहले नै आगजनी गरेको भन्ने घटनास्थलमा खटिएका प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो । उहाँले भने ‘त्यस क्षेत्रको शान्ति÷सुरक्षाको संम्वेदनशिलतालाई ध्यानमा राखेर जिल्लाका साथै मातहतका प्रहरी चौकीबाट समेत प्रहरी टोली परिचालन गरिएको छ ।’ आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button