तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घर्षको तीन वर्षमै स्वर्ण पदक

तह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी सङ्गीता धामीको चर्चा शिखरमा चुलिएको छ । उहाँले नेपाली कुस्ती खेलको इतिहासमा पहिलोपटक जारी सागमा नेपाललाई स्वर्ण दिलाएकी भएको थियो । अहिले उहाँको गृहनगर खुशियालीले रमाएको छ । जनकपुरमा गत शनिबार सम्पन्न ५५ किलो तौल समूहतर्फ उहाँले बङ्गलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित गर्दै नेपाललाई महिलातर्फको कुस्ती खेलमा स्वर्ण पदक दिलाउनुभएको थियो । “धामीको मेहनत, परिश्रम र नियमित प्रशिक्षणले नेपाललाई सफलता हात लागेको हो ।” प्रशिक्षक राजेन्द्र चन्दले भन्नुभयो । तीन वर्षअघि हटौँडामा भएको राष्ट्रिय खेलकूद प्रतियोगिताबाट उहाँले कुस्तीमा स्पर्धा थाल्नुभएको थियो । “तीन वर्षअघि भीमदत्तनगर छेउछाउका स्कूलहरुमा खेलाडी खोज्दै हिँडेका बेला सङ्गीतालाई यहाँको भृकुटीबाट खेलमा ल्याएको हुँ ।” प्रशिक्षक चन्दले भन्नुभयो, “सङ्गीताको स्वर्णले सबैलाई खुशियाली दिलाएको छ ।” यसअघि बृहत् आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पनि उहाँले स्वर्ण पदक हात पारेकी थिइन् । उहाँले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको छ । स्नातक तहको अध्ययनलाई अघि बढाउने योजनामा उहाँ लाग्नुभएको छ । बाह्राँै सागदेखि मात्र महिला कुस्तीलाई प्रतियोगितामा समावेश गरिएको थियो । “बाह्रौँ सागमा पनि सुदूरपश्चिमबाट तीन जना महिला खेलाडीले भाग लिएका थिए ।” प्रशिक्षक चन्दले भन्नुभयो, “अहिले यहाँबाट सहभागी अधिकांश महिला खेलाडीले नेपाललाई पदक दिलाएका छन् ।” त्यसैगरी भीमदत्तनगरका शिवाङ्गी दुबे, अम्बिका भण्डारी र मनिषा सिंह र कोमल खत्रीले पनि पदक प्राप्त गर्न सफल भएका छन् । शिवाङ्गी, अम्बिकाले रजत र मनिषा र कोमलले काष्य पदक हात पारेको प्रशिक्षक चन्दले जानकारी दिनुभयो । त्यसैगरी भीमदत्तनगरकी निर्मला जागरीले पनि रजत पदक जितेकी छिन् । पछिल्लो समय सबैभन्दा बढी महिला कुस्ती खेलाडी भीमदत्तनगरबाट साग स्प्रर्धामा पुगेका छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button