तपाईँ सुन्दै हुनुहुन्छः

मादी नदीमा ताल निर्माण गरिँदै

कृष्ण न्यौपाने-व्यास नगरपालिकाले मादी नदीमा निर्माण गर्न लागेको कृत्रिम तालको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गर्न लागिएको हो । सो आयोजना सम्भाव्यता अध्ययन गर्न नगरपालिकाले चालू आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरेको थियो ।

नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले ताल निर्माणका लागि नगरपालिकाले बोलपत्र प्रक्रिया अगाडि बढाउने तयारी गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “पहिलो चरणमा ताललाई मात्रै प्राथमिकतामा राखेर काम हुनेछ ।” नगरपालिकाले दमौलीदेखि शिशाघाटसम्म मादी नदीलाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाले मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माणलाई समेत अगाडि बढाइसकेको जनाएको छ ।

नगरप्रमुख न्यौपानेका अनुसार पहिलो चरणमा ताल निर्माणलाई अगाडि बढाउने र दोस्रो चरणमा जग्गा व्यवस्थापनको काम गर्ने लक्ष्य राखिएको छ ।

काठमाडौँबाट १५० र पोखराबाट ५० किमि दूरीमा रहेको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम तालसहितको संरचना निर्माणका लागि करिब रु छ अर्ब लाग्ने अनुमान छ । कृत्रिम तालसहितको परियोजनालाई सरकारी–निजी–समुदायको साझेदारीमा निर्माण गर्ने लक्ष्य राखिएको छ ।

परियोजनाअन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, ५०० क्षमताको सभाहल, वनस्पति फूलबारी, मनोरञ्जन केन्द्र, वाटर पार्क, मिनी गल्फ कोर्सलगायतका संरचना निर्माण गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button