तपाईँ सुन्दै हुनुहुन्छः

आगलागी पीडितलाई प्रधानमन्त्री र मुख्यमन्त्रीद्वारा राहत घोषणा, सञ्चालक फरार (अपडेट) 

नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा भएको आगलागीका पीडितहरुलाई प्रारम्भिक राहतको घोषणा गर्नुभएको छ ।प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ दिनेगरी उहाँले आईतबार राहतको घोषणा गर्नुभएको हो ।

सो रकम आगलागीमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दिइने अधिकारीहरुले जानकारी दिएका छन् । उहाँले आगलागीमा परी गम्भीर घाइते भएकाहरुलाई प्रतिव्यक्ति ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गर्नुभएको छ ।

आइतबार विहान भएको आगलागीमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् ।

त्यसैगरी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि मृतकका परिवारलाई प्रतिव्यक्ति दश लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ ।

उहाँले घाइतेहरुलाई भने प्रतिव्यक्ति एक लाख भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा पनि गर्नुभएको समाचारमा जनाइएको छ ।

राज्य सरकारले घटनाका बारेमा अनुसन्धान गरी सत्य तथ्यसहितको प्रतिवदेन पेश गर्न एक हप्ताको समयसीमा सहित छानविन टोली पनि खटाएको छ ।

घटनाप्रति भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसले पनि दुःख व्यक्त गरेको छ । पार्टीकी महासचिव प्रियंका गान्धीले घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

“नयाँ दिल्लीको अनाज मण्डीमा रहेको कारखानामा भएको आगलागीको समाचार सुनेर निकै दु्ःख लाग्यो,” गान्धीले भन्नुभयो । नयाँ दिल्लीको रानी झाँसी रोडस्थित अनाज मण्डीमा रहेको एउटा कारखानामा आगलागी भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

आगलागी भएको ठाउँबाट झण्डै ६२ जनालाई उद्धार गरिएको उद्धारकर्ताहरुको भनाई छ । घाइतेहरुको नजिकैका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

कारखानाका सञ्चालक फरार  
नयाँ दिल्लीमा आगलागी भएको कारखानाका सञ्चालक फरार भएका छन् । नयाँदिल्लीस्थित अनाज मण्डीमा रहेको कारखानाका सञ्चालक सम्पर्क विहिन रहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

कारखाना सञ्चालकलाई फौजदारी अभियोग लाग्ने भारतीय कानुनमा व्यवस्था भएपनि उनी फरार रहेको प्रहरीले जनाएको छ ।  दिल्ली प्रहरीले फरार भएका कारखाना सञ्चालकको खोजी भइरहेको र घटनाका बारेमा विस्तृत अध्ययन अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button