तपाईँ सुन्दै हुनुहुन्छः

‘रेडियो नेपाललाई समावेशी बनाईनु पर्छ’

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सञ्चार माध्यमहरुको भीडबाट रेडियो नेपाललाई अलग पहिचान दिएर समावेशी एवं सहभागितामुलक बनाईनु पर्ने बताउनु भएको छ ।

रेडियो नेपाल प्रसारण सेवा विकास समितिको आयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा भएको समावेशी प्रसार सामाग्री उत्पादन तथा प्रसारणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले रेडियो नेपाललाई प्रतिस्पर्धी बनाइउँदै राज्यव्यवस्था सुदृढिकरणका लागि समावेशी सामाग्रीहरु प्रसारण गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले हरेक नेपाली नागरिकका लागि सबैभन्दा सर्वसुलभ तथा भरपर्दो सञ्चार माध्यम रेडियो भएकाले रेडियो नेपालले र्निविकल्प अब्बल सञ्चार माध्यम बन्न समय सापेक्ष आफुलाई परिमार्जन गर्दै सशक्तरुपमा विकासको गतिलाई अगाडि बढाउन आवश्यक रहेको औल्याउनुभयो ।

सञ्चार माध्यमलाई व्यवस्थापन गर्नको लागि प्रदेश सरकारले आम सञ्चार प्रतिष्ठान मार्फत गृहकार्य गरिरहेको बताउँदै पत्रकार दुर्घटना वीमा, पत्रकारिता अध्ययनका लागि छात्रबृत्तिलगायत कार्यक्रम अगाडि बढाईएको समेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय मानविकी संकायका डीन खोपीराम लम्सालले रेडियो नेपालका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने साहित्यकार तथा प्राध्यापक डाक्टर दिपक गौतम र उपप्राध्यापक कमलेश डीसीले कार्यपत्र माथि टिपप्णी गर्नुभयो ।

कार्यक्रममा नेपाल समाचार महाशाखा प्रमुख पवन प्याकुरेल, कार्यक्रम महाशाखा प्रमुख नवराज लम्साल, योजना विकास तथा विस्तार महाशाखाका निर्देशक पुष्कर राज गौतम, व्यापार महाशाखाका वरिष्ठ व्यापार अधिकृत पुस्कर बरालले रेडियो नेपालले उत्पादन तथा प्रसारण गर्ने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button